pokhara news

अभिमुखीकरणमार्फत स्वास्थ्य सेवा मजबुत बनाउँदै वालिङ नगरपालिका.

सुशील सुवेदी 
स्याङजा , चैत २४ गते 

स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित वालिङ नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाको सभा हलमा आयोजित “स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (एचएफओएमसी)” सम्बन्धी कार्यक्रममा स्थानीय स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालन, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको थियो । 

कार्यक्रममा स्वास्थ्य संस्थाको भूमिका, सेवा प्रवाहमा पारदर्शिता, स्रोत व्यवस्थापन, समुदायको सक्रिय सहभागिता तथा उत्तरदायित्वका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो । यसले स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । 
अभिमुखीकरणमा आफ्नो धारणा राख्दै नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकाले नेपाल सरकारको मापदण्डअनुसार सुविधा सम्पन्न १९ वटा स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो । 

“तीन तहका सरकारमध्ये स्थानीय सरकारले दिने आधारभूत स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याउने हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।

वालिङ नगरपालिका नेपालमै पहिलोपटक स्थानीय जनस्वास्थ्य ऐन लागू गर्ने नगरपालिका बनेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालयले समेत उक्त ऐनलाई स्थानीय तहका लागि नमुना ऐनका रूपमा लिएको छ । 

सोही ऐनअनुसार १५ शैयासम्मका अस्पताल सञ्चालन, व्यवस्थापन समिति गठन तथा अभिमुखीकरण गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । यही अधिकार प्रयोग गर्दै नगरपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको पाण्डेले बताउनुभयो । 

नगरभित्र रहेका सबै १९ वटा स्वास्थ्य संस्थामा व्यवस्थापन समिति गठन भइसकेको र तोकिएको मापदण्डअनुसार सेवा प्रवाह भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । 

यस अभिमुखीकरण कार्यक्रमले स्थानीय स्वास्थ्य प्रणालीलाई अझ मजबुत बनाउँदै ‘स्वस्थ वालिङ, समृद्ध वालिङ’ अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर