अमूल्य जीवनलाई अझ मूल्यवान बनाउनुपर्ने—पूर्वमन्त्री अर्याल
वैशाख ३०, वालिङ ।
नेपाल सरकारका पूर्वमन्त्री पद्मा अर्यालले हाम्रो अमूल्य जीवनलाई अझ मूल्यवान बनाउनुपर्ने बताउनुभएको छ । हाम्रो जीवनको कुनै मूल्य छैन अमूल्य छ, यो अमूल्य जीवनलाई मानव कल्याणमा र समाजिक योगदानमा लगाएर अझ मूल्यवान बनाउनुपर्ने पूर्वमन्त्री अर्यालले बताउनुभयो ।
स्याङ्जाको वालिङ १४ स्थित चालिसेमा सञ्चालित तण्डुलाचल ज्ञान महायज्ञ समापन समारोहमा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले यस्ता धार्मिक अनुष्ठानबाट मानव कल्याण र सुसंस्कृत समाज निर्माणमा अहम भूमिका खेल्ने उल्लेख गर्नुभयो । आध्यात्मिक तथा धार्मिक कार्यको माध्यमबाट सङ्कलित दानबाट अनाथहरुको पालनपोषण एवम् कोही पनि भोकै रहन नपरोस भनेर अन्नक्षेत्रको विकास गर्ने कल्याणकारी उद्देश्य पूरा गर्न हामी सबै लाग्नुपर्ने उहाँको भनाई थियो । जग्गाको व्यवस्थापन गरेर मन्दिरकोसाथमा अनाथालय बनाउने पूण्य कार्यमा आवश्यक सहयोगका लागि आफूले सरकारको निकायमा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । यसकासाथै आफ्नो व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग रहने उहाँ प्रतिष्ठानले व्यक्त गर्नुभयो ।
फरक प्रसँग जोड्दै पूर्वमन्त्री अर्यालले पछिल्लो समय देशमा केही भएन भन्ने गलत भाष्य फैलाइएकोमा दुःख व्यक्त गर्नुभयो । देश लोकतान्त्रिक गणतन्त्रमा अगाडि बढेसँगै के कति विकास भयो भन्ने हामीले आफ्नै गाउँठाउँलाई हेरे थाह हुन्छ । आज गाउँवस्तीहरुमा सडक यातायात पुगेको छ, खानेपानीको व्यवस्थापन भएको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधारसहित आवश्यकताका आधारमा कामहरु भैरहेका छन् के यो विकास होइन ? भनी गलत भाष्य प्रयोग गर्नेहरुप्रति लक्षित गर्दै पूर्वमन्त्री अर्यालले प्रश्न गर्नुभयो । यही बायँखोला क्षेत्रलाई हेर्ने हो भनेपनि आफू सांसद भएको समयमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गरेको बजेट व्यवस्थापनले आज सडक स्तरोन्नतिसहित कोलोपत्रेको कार्य भैरहेको उहाँले उल्लेख गर्नुभयो । पिपलटारीदेखि डुम्रे भञ्ज्याङ जाने तल्लो बाटो कालोपत्रेको काम यही आउने जेठसम्ममा सम्पन्न हुँदैछ भने माथिल्लो बाटो पनि स्तरोन्नतिसहित लगत्तै पीच हुने पुर्वमन्त्री अर्यालले बताउनुभयो ।
यसैगरी गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले महायज्ञले पनि सबै मिलेर ठाउँको विकासमा लाग्न भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले आयोजकले जुन लक्ष्य लिएर धार्मिक अनुष्ठानको आयोजना गरेको छ, यसका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । महायज्ञको उद्देश्य र लक्ष्य प्राप्तिका लागि आफ्नो मन्त्रालयमा सल्लाह गरेर सहयोग गर्ने वचन दिन्छु, उहाँले भन्नुभयो ।
कालिका आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको “श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२” यही वैशाख २४ चालिसेमा सञ्चालन गरिएको थियो ।
महायज्ञ शुभारम्भका अवसरमा महायज्ञका प्रमुख कथावाचक व्यास प्रकाश तिवारीले वैदिक सनातन धर्म रक्षार्थ राष्ट्रशान्ति १०८ श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती गर्ने आफ्नो लक्ष्य अनुरुप आफ्नै जन्मस्थानबाट प्रथम अनुष्ठान सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो । देशका विभिन्न स्थानकासाथै विदेशमासमेत गरेर लक्ष्य पूरा गर्ने आफ्नो सङ्कल्प रहेको व्यास तिवारीले व्यक्त गर्नुभयो ।
श्री राधासर्वेश्वरको अनुकम्पाले भागवत् भक्तिप्राप्ती हेतु आज ३० गतेसम्म गरिमामय भागवत् सत्सङ्ग ज्ञान महायज्ञ सञ्चालनमा ल्याइएको व्यास तिवारीले बताउनुभयो । अनुष्ठानमा धेरै भक्तजनहरुबाट श्रद्धा भक्तिकासाथ दान गर्नुभएको र जनप्रतिनिधी, व्यवसायीलगायत विशिष्ट व्यक्तिहरुबाटसमेत थप सहयोग गर्ने वचनवद्धता प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।



Leave A Comment