pokhara news

आरन पेशासँगै बिक परिवारको गन्तव्यको यात्रा

असोज २,वालिङ । 
मोहोरियाकी मिठु विक श्रीमानले बनाएको हँसिया, कोदालो, कुटो, चिम्टा, खुँडालगाएतका औजार बिक्रि गर्न थालेको दुई दशक बढि भयो ।
श्रीमान दीर्घलालले घरमा गर्दै आएको आरनमा बनाएका औजार विक्रि गर्नु र घर खर्चको मेसो मिलाउनु उहाँको दैनिकि हो । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादी पुख्र्यौली घर भएका मिठु दम्पत्ति दुई दशकदेखि वालिङ १० को मोहोरियामा बस्दै आउनुभएको छ । ५ छोराछोरी लालनपालन गर्न मिठुका लागि उतिबेला निकै सङ्घर्ष गर्नुपर्ने अवस्था थियो । बालीघरे प्रथामा काम गरेका मिठु दम्पत्तिलाई वर्षभरी काम गरेर एक पटक धान, मकै, कोदो लिएर जीवन धान्नुपर्ने अवस्था थियो । क्रमशः छोराछोरीहरुको लेखाई पढाईसँगै खर्चको मात्रा बढ्दैजाँदा बालीघरे प्रथाबाट धानिन मुश्किल हुँन थाल्यो । बालिघरे प्रथाबाट पैसा नआउने हुँदा बदलिदो परिस्थितिलाई डो¥याउन नगदको आवस्यकता भयो । फलस्वरुप बालीघरे पेशालाई नगदमा परिणत गर्न औजार बनाएर बिभिन्न बजारहरुमा लगेर बेच्न थालेको मिठु बताउनुहुन्छ ।
गाउँ घरमा फलामका औजार अर्चाप्ने, नयाँ बनाउने र हरेक वर्षमा एक पटक अन्नसंँग परिश्रम साट्नु  बालीघरे प्रथा हो । यो प्रथा दशकअघि लुगा सिलाउने र फलामको औजार बनाउने दलित समुदाय र गैर दलित समुदायका बीचमा परिश्रमको साटो अन्न दिने प्रचलन थियो । नगदको आवस्यकता बढ्दै जानु र बालिघरे प्रथाबाट सम्भव नहुने अवस्थासँगै दलित समुदायका परम्परागत र सीपमूलक पेशालाई नगदमा परिणत गर्नुपर्ने परिस्थिति आयो ।
जिल्ला सदरमुकामको पुतलीबजार तथा पोखरामा गरेर दुई दशक भन्दा धेरै समय सडक छेउमा फलामका औजार बिक्रि गर्दै आएको मिठुको अनुभव छ । सङ्घीयता कार्यान्वयन हुनु अगाडिको समयमा स्याङ्जा सदरमुकाममा निकै चहलपहल हुन्थ्यो । मिठुले भन्नुभयो, “नगरपालिका गाउँपालिका नहुँदा सबै स्याङ्जा जान्थ्ये त्यतिबेला व्यापार राम्रो थियो । धेरैले कृषि काम गर्नेहुँदा यस्ता औजार आवश्यक पर्दथ्यो, तर अहिले पहिलाजस्तो कृषि पेशा नगरिने भएकाले व्यापारमा पनि कमि आएको छ ।”
स्याङ्जा मुकामको सडक छेउमा दशक भन्दा धेरै समय व्यापार गरेकी मिठु अहिले वालिङ बजारको चोक नजिकै सटर लिएर बिक्रि गर्न थाल्नुभएको छ । नगरपालिकाले पनि सडक छेउमा व्यापार नगर्नु भनेपछि सटर लिएर व्यापार गर्न थालेको मिठु बताउनुहुन्छ । उमेरले ६० पुग्न लाग्नुभएका मिठुका श्रीमान दीर्घलाललाई घनले फलाम पिटेर काम गर्न सहज भने छैन । तर पनि जीवनयापनको लागि दीर्घलालले आफ्नो पेशालाई निरन्तरता दिईरहनुभएको छ ।
घनले फलाम पिट्ने, हँसियाहरु अर्चाप्ने काम मिठुले पनि गर्नुहुन्छ । अहिले भने दुई छोरा विगत तीनवर्षदेखि रोजगारीका लागि भारतमा छन् । परिवार चलाउन केहि सहज त छ तर पनि सक्दासम्म आँफूले जानेको काम गर्नुपर्छ भन्ने भावनाले पनि निरन्तरता दिईएको विक परिवारको भनाई छ । यही काम गरेर छोरा छोरी हुर्काइयो, घडेरी किनेर सानोतिनो भएपनि घर बनाइएको छ । छोराहरुले यो पेशा नगरे पनि आफ्नो लागि कमाउन थालेका छन्, खुसी छौं । केही पाउन केहि परिश्रम त गर्नैपर्छ नि । घाम पानीमा रुझ्नु पर्दैन, घरमै काम गर्न सकिने हुँदा सजिलो लाग्छ । आरनको कामलाई हेर्दा सामान्य लागे पनि आम्दानी हुने र परिवार चलाउन सकिने पेशा हो । सामान बनाउन सके बिक्रि हुन्छ, पैसा आउँछ—दीर्घलालले भन्नुभयो ।
स्थानीयतह तथा अन्य संस्थाहरुले दलित समुदायको पुख्र्यौली पेशालाई आधुनिकीकरण गर्न बिभिन्न सहयोग गर्दै आएको खबर रेडियो टिभिमा सुने पनि आँफूलाई त्यस्तो अवसर नमिलेको मिठुको गुनासो छ ।
आरन सञ्चालनका लागि बिभिन्न खालका सजिलो मेसिनहरु आएको र यो पेशालाई सहज बनाउन स्थानीयतह तथा वडाले सहयोग गर्नसके थप हौसला मिल्ने विक दम्पत्तीको भनाई छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर