उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा सुरु
गोपाल जिटी
वालिङ, १ पुस ।
गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सुरु भएको छ ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवाकोन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालय एवम् मुख्य कार्यालयमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा गरी ६ दिन लगाएर ३३ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने भएको हो । संस्थाको कार्यक्रम अनुसार आज पौष १ गते मङ्लबारदेखि चापाकोट नगरपालिका–८ स्थित दामाचौर सेवाकेन्द्रबाट आफ्नो ३३ औं वार्षिक साधारणसभा सुरु गरेको छ । सहकारीले वालिङ नगरपालिकाको वालिङ–८ वालिङ, १३ को बायँटारी, कालिगण्डकी गाउँपालिका–७ को मिर्मी, चापाकोट नगरपालिकाको दामाचौर गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यसैगरी वालिङ–७ को केवँरेमा सदस्य सम्पर्क कार्यालय मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
दामाचौर सेवाकेन्द्रमा आज पहिलो दिन आयोजित इकाई साधारणसभामा कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सहकारीका सल्लाहकार संयोजक भरतप्रसाद बगालेले सहकारी संस्था धनि भन्दा पनि न्यून आय भएकाहरुको प्रतिनिधित्व गर्ने साझा संस्था भएको बताउनुभयो । न्यून आय भएका वा श्रमजीजिवीहरुको आर्थिक सुरक्षणको प्रतिनिधित्व गर्ने संस्था सहकारी भएको उहाँको भनाई छ । संस्थाका निवर्तमान अध्यक्षसमेत रहनुभएका बगालेले विभिन्न आरोह अवरोहका बीच पनि सञ्चालक एवम् शेयर सदस्यको अथक प्रयासबाट उपकार सहकारी संस्थ अगाडि बढेको उल्लेख गर्नुभयो । वित्तीय अनुशासन र सहकारीको सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्न नसकेका कारण पछिल्लो समय केही संस्थाहरु सङ्कटमा पर्न गएको उहाँको भनाई छ । उपकार सहकारी सुरुका दिनदेखि नै विधि र पद्धति अनुसार अगाडि बढेकाले आज एक प्रतिष्ठित संस्थाकोरुपमा स्थापित भएको बगालेले उल्लेख गर्नुभयो । उहाँले संस्थामा आवद्ध सदस्यहरु र संस्थाको सर्वोपरी हितलाई ध्यानमा राखी दूरदृष्टि लक्ष्य उद्देश्य अनुरुप अगाडि बढेको उपकार सहकारी भोलि नमूना सहकारी संस्था बन्ने विश्वास व्यक्त गर्दै ढुक्क रहन शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
पौष २ गते बुधबार कालिगण्डकीको मिर्मी सेवाकेन्द्रमा, ३ गते वालिङ–१३ को बायँटारी, ४ गते सदस्य सम्पर्क कार्यालय वालिङ– ७ को केवरे र ५ गते वालिङ सेवाकेन्द्रमा इकाई साधारणसभा गर्ने सहकारीले जनाएको छ । यसैगरी ६ गते वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त खनाल कोषाध्यक्ष दुर्गा न्यौपाने, लेखा समितिका संयोजक पर्शुराम लम्साल तथा महिला परिचालन उपसमिति संयोजक ललगायतले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ ।
संस्थाको अभिलेखमा कूल मुनाफा रु.१ करोड २२ लाख २७ हजार ९६ गरेको देखिन्छ भने एन एफ आर एस लेखा परीक्षणपछिको अभिलेख अनुसार बाँडफाँट योग्य नाफा रु.८ लाख ३० हजार मात्र रहेको छ । स्याङ्जामा एन एफ आर एस लेखा परीक्षण उपकार र सूर्योदय सहकारी गरी जम्मा दुई वटाले मात्र गर्दछन् ।
संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । जसमा वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका रहेका छन् भने गाउँपालिकाहरुमा कालिगण्डकी, बिरुवा र हरिनाससम्म कार्यक्षेत्र विस्तार गरेको छ ।
कार्यक्रममा नियमित बाल बचत गर्ने बालबालिकालाई पुरस्कृत गरिएको थियो ।



Leave A Comment