pokhara news

कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक

जेठ २५, पाल्पा ।
कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । शनिबार पाल्पाको रामपुरमा आयोजित छलफल कार्यक्रममा स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको बताएका हुन् । 
कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागीहरुले कालीगण्डकी सभ्यताको संरक्षणका लागि धार्मिक पर्यटन प्रवद्र्धन तथा नदीको पानीको तल्लो तटीय क्षेत्रमा उच्चतम सदुपयोगको योजना अघि सार्नु पर्नेमा जोड दिएका छन् । कालीगण्डकी सभ्यताको संरक्षणका लागि डाइभर्सनको योजना खारेज गर्दै कालीगण्डकी नदीको महिमा जगाउँदै उच्चतम प्रयोगमा ल्याउनुपर्ने उनीहरुको धारणा छ । 
कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले कालीगण्डकी तल्लो तटिय क्षेत्रका जनता डाईभर्सन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले कालीगण्डकी डाईभर्सनको विषयमा नबोले पनि कालीगण्डकी सम्यताको विकासको लागि धार्मिक तथा पर्यटन प्रवद्र्धनको योजना अघि सारेको उल्लेख गर्नुभयो । साथै पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाएको जानकारी गराउनुभयो ।
कालीगण्डकी सभ्यताको विकासको लागि रामपुर र स्याङ्जाको चापाकोटलाई एकीकृत शहरको रुपमा विकास गर्न नीति लिएको उल्लेख गर्नुभयो । श्रेष्ठले कालीगण्डकी डाइभर्सनको विषय लुम्बिनी र गण्डकी प्रदेशको साझा सवाल भएको भन्दै केन्द्रमा बहस र छलफल गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कालीगण्डकी सभ्यताको संरक्षणका लागि अब अन्तिम लडाई लड्नुपर्ने उहाँको भनाई छ । स्थानीयस्तर बाटै नो डाईभर्सन भनेर ह्विम जारी गर्नु आवश्यक छ । कार्यक्रममा कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालीगण्डकीलाई आमा मानेर बसेका स्थानीयको सहमति विना कहि लैजान नमिल्ने धारणा राख्नुभयो । कालीगण्डकीको गिट्टी बालुवा खोल्ने कुरामा अदालतले डाइभर्सन आयोजना अघि बढाउन फैसला गरेपनि स्थानीय सरकार संँग समन्वय नगरिकन आयोजना अघि बढ्न नसक्ने उहाँको भनाई थियो । 
कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले  डाइभर्सन रोक्नका लागि कालीगण्डकी नदीको धार्मिक तथा सांस्कृतिक महिमा जागरण आवश्यक रहेको बताउनुभयो । कालीगण्डकीको महत्वलाई विश्वसामु चिनाउन अन्तर्राष्ट्रियस्तरको धार्मिक मेला सञ्चालन गर्ने तयारी भैरहेकोसमेत उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलो अधिकार तटिय क्षेत्रको हो । त्यसैले जनगरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।’ उहाँले उत्तरवाहिनी क्षेत्रमा आगामी असोज २१ देखि कार्तिक १९ गते सम्म गण्डकी नदीको महत्वको बारेमा जानकारी गराउन उत्तरगण्डकी महामेलाको तयारी भैरहेको जानकारी गराउनुभयो । 
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन योजना अघि बढ्न नदिनका लागि तल्लो तटीय क्षेत्रका स्थानीयहरु जागरुक हुनु आवश्यक रहेको बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर