pokhara news

कालीगण्डकीले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई ग¥यो

चैत २१, वालिङ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बुधबार गाउँपालिकाको सभाहलमा गरेको हो । 
कार्यक्रममा वडाबासीहरुले पालिकाको वृहत्तर विकासका लागि विभिन्न सुझावसहित नागरिकसँग प्रत्येक्ष सरोकारका विषयहरु उठाएका थिए । नागरिकहरुलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनमा वृद्धि ल्याउने कार्यक्रमसँगै विभिन्न सीपमूलक तालिम सञ्चालनलाई प्राथमिकता दिनुपर्ने सुझाव राखेका छन् । समग्रमा प्रश्न वा गुनासो भन्दा पनि अधिकांशले थप विकास गर्नका लागि सुझाव केन्द्रित रहेका थिए ।
विद्युतीय कार्य, प्लम्विङ, महिला लक्षित कार्यक्रम अन्तर्गत शिलाई बुनाई, लिटो बनाउने, अगरबत्ती एवम् चप्पल बनाउनेलगायत विभिन्न सीपमूलक तालिमहरु सञ्चालनलाई प्राथमिकता दिनुपर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउन प्राविधिकहरुको सक्रीयता बढाउनुपर्नेलगायतका सुझाव राखेका थिए । खानेपानी व्यवस्थापनमा धेरै कामहरु भएपनि कतिपय टोलहरुमा निर्वाह मात्र भएको र सुख्खायाममा पनि पर्याप्त हुनेगरी लाग्न आवश्यक रहेको धारणा सहभागीहरुले राखेका छन् । यसैगरी भौतिक पूर्वाधार विकाससँगै मानव संसाधान विकासमा  पालिकाले ध्यान दिन आवश्यक रहेको सहभागीहरुले राखेका थिए । यसकासाथै सामुदायिक नर्स कार्यक्रम अन्तर्गत टोलहरुमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सञ्चालन गर्न सुझाएका छन् । पूर्वाधार विकासमा अगाडि बढेको गाउँपालिकामा २ नम्वर वडालाई सडक कालोपत्रे हुन बाँकि रहेकोमा के हुँदैछ भनी प्रश्न गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको गुनासा र सुझावहरुको सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले सहभागीहरुबाट राखिएका सुझावहरु थप कार्य गर्नका लागि मार्ग दर्शक बन्ने बताउनुभयो । पालिकाबासीका सुझाव तथा सल्लाहले अगाडि बढ्न आँफूहरुलाई उर्जा मिल्ने उल्लेख गर्दै अध्यक्ष थापाले सीपमूलक तालिमसँगै आम नागरिकका सरोकारका विषय र बाँकि एवम् थप गर्नुपर्ने कार्यलाई महसुस हुनेगरी सुक्ष्मरुपले लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
जहाँसम्म २ नम्वर वडाको सडक कालोपत्रेको कुरा छ, यो टेण्डर भएर काम अगाडि बढिसकेको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “ २ नम्वर वडामा पर्ने भुस्टुङ रुद्रबेणी सडक केही प्रतिशत निर्माण कार्य भएको छ । सबै सडक कालोपत्रे गर्नका लागि संघीय सरकारको बजेटमा टेण्डर प्रकृयाको काम भैसकेको छ, आगामी वर्ष सम्पन्न हुनेछ ।”
कार्यक्रमको उद्देश्य र कार्य प्रगतिका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्ययले राख्नुभएको थियो ।
सार्वजनिक सुनुवाईको सहजिकरण पावर न्यूज नेटवर्क मिडिया प्रा.लि. ले गरेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर