pokhara news

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५औँ साधारणसभा तथा तेस्रो अधिवेसन

चैत २५, वालिङ ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेसनको उद्घाटन गरिएको छ । 
साधारणसभा तथा तेस्रो अधिवेसनको गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले उद्घाटन गर्नुभएको हो । वालिङ साना शहरी खानेपानीका संस्थापक अध्यक्षसमेत रहनुभएका अर्यालले संस्थाले बल्ल ५औँ साधारणसभा गर्न सफल भईनु विगतमा केही न केही कमिकमजोरी रहेको बताउनुभयो । अर्यालले अब खानेपानी संस्थालाई राम्रोसँग अगाडि बढाउन आवश्यक रहेको व्यक्त गर्नुभयो ।
संस्थाले विगतमा धेरै आरोह अवरोह झेल्दै यो समयमा आएर वालिङका ३ हजार भन्दा धेरै घरधुरीलाई घरघरमा खानेपानी पु¥याउन सकिएको भन्दै आगामी दिनमा पनि खानेपानी संस्थालाई सफल रुपमा अगाडि बढाउन सबैको साथ र सहयोग रहनुपर्ने औल्याउनुभयो । हरेक संस्थामा प्रतिष्पर्धाले नै थप शसक्त रुपमा काम हुने भएकाले सकेसम्म सबैको भावनालाई कदर गर्दै सहमतिमा नयाँ समिति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहको सरकारले एक घर एक धाराको अवधारणा ल्याएको र गण्डकी प्रदेशमा ९५ प्रतिशत घरमा एक घर एक धाराको अवधारणाले सार्थकता पाएको छ तर अझै पनि ग्रामिण क्षेत्रमा खानेपानीकै लागि सास्ती खेप्नुपरेको अवस्था रहेको उल्लेख गर्नुभयो । खानेपानी, रोजगारी, संभावनाहरुको खोजी गर्दै जनप्रतिनिधिहरुले आफ्नो कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले वालिङमा खानेपानीको परिपूर्तिका लागि वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आगामी दिनमा अझै शुद्ध पिउने पानी वितरण गरिनु वालिङ खानेपानी संस्थाको उद्देश्य रहनु राम्रो पक्ष हो । वालिङका सा—साना खानेपानी योजनाहरु यो संस्थामा समाहित गरेर पानी वितरणलाई थप विस्तार गर्नका लागि सबैको सकारात्मक सहयोग रहनुपर्ने सांसद तिवारीको भनाई छ ।  
यसैगरी आफ्नो भनाई राख्दै वालिङ नगर प्रमुख कृष्ण खांँणले नगरबासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यकासाथ ऐन निर्माण गरेर नै नगर अगाडि बढेको बताउनुभयो । उहाँले वालिङ खानेपानी संस्थासंँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्न प्रतिवद्ध रहेकोसमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विद्या श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै १ सय ६६ बाट ३ हजार १ सय घरधुरीमा पानीको सुविधा पु¥याउन सफल भएको बताउनुभयो । उहाँले वालिङका सबै उपभोक्तालाई समाहित गरी एकद्वार प्रणालीबाट गुणस्तरीय पानी उपलब्ध गराउने गरी हाल ९ वटा वडा र केहि भाग समेटिएको जानकारी गराउनुभयो । यो परियोजनाले ७० प्रतिशत करिव ८ हजार घरधुरीलाई गुणस्तरीय पानीको सेवा दिने गरी उपभोक्ता समितिहरु, संघीय खानेपानी आयोजना इकाइ पोखरा र डिभिजन खानेपानी कार्यालय स्याङ्जालाई समेत बोलाएर नगरपालिकाको पहलमा विभिन्न चरणको छलफल गरिएको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले दैनिक ३१ सय घरधुरीमा करिव २८ लाख लिटर पानी उत्पादन गरी २३ लाख लिटरको वार्षिक विलिङ शुल्क १ करोड भन्दा धेरै हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  त्यस्तै आगामी दिनमा हाल वितरित पानीलाई २४सै घण्टा वितरण गर्ने, खानेपानी सेवालाई स्वचालित गराउँदै लैजाने, डिजिटाईजेशन गर्नेलगायतका योजनाहरु समावेश गरिएका छन् । 
साधारणसभा कार्यक्रम पश्चात आजै अधिवेशनको प्रकृया सुरु गरिएको संस्थाले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर