गल्याङमा बसपार्क बन्ने विषय भाषण र आश्वासनमा सीमित
साउन ६, वालिङ ।
देशमा संघीय, प्रदेश र स्थानीय गरी तीनतहको राज्य प्रणाली छ । जनतासँग प्रत्यक्ष साक्षात्कार हुने स्थानीयतह हो । त्यसैले जनताका आधारभूत आवश्यकताका विषय सम्वोधन गर्न स्थानीयतहको भूमिका महत्वपूर्ण रहन्छ ।
पालिकाका बजार क्षेत्रको आधारभूत आवश्यकतामध्ये सवारी साधनका लागि बसपार्क पनि एक हो । नगरपालिका बन्नका लागि राज्यले तय गरेका विभिन्न मापदण्डहरुमध्ये बसपार्क पनि एक हो । यसका लागि यात्रु विश्राम स्थल तथा सुविधाजनक शौचालयसहितको बसपार्क भएको हुनुपर्ने भनिएको छ ।
नीति बनेसँगै अधिकांश नगरपालिकाहरुले बसपार्क बनाएर यातायातका साधन पार्किङ व्यवस्थापन गरिसकेका छन् भने कतिपय पालिकाहरु निर्माणको चरणमा छन् । यसैबीच स्याङ्जाको गल्याङ नगरपालिकामा अझैसम्म पनि बसपार्क बन्न सकेको छैन ।
सिद्धार्थ राजमार्गसँग जोडिगएको गल्याङको बजार क्षेत्र बाक्लो बस्ती र साँघुरो सडक गल्लीमा भीडभाडसहित अस्तव्यस्त हुने गर्दछ । यहाँको बजार नगरपालिकाको उत्तरी क्षेत्रको ४ नम्वर वडाहुँदै पर्वत, पूर्वमा चापाकोट नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र दक्षिणमा पूर्वी पाल्पाको हुँगी हेक्लाङ, बगनासकाली गाउँपालिका क्षेत्रको पाएक पर्ने ठाउँ हो । अहिलेसम्म पनि बसपार्क बन्न नसक्दा नागरिकहरुले सास्ती भोग्नुपरेको छ । व्यवस्थित बसपार्क बनाउने विषय भाषण र आश्वासनमै सीमित रहेको छ ।
२०७४ को स्थानीयतह निर्वाचनपछि नीतिगतरुपमा जग्गाको व्यवस्थापनको काम सुरु भएको गल्याङमा अझैसम्म पनि बसपार्क बन्न नसक्दा सवारी साधनहरु राजमार्ग तथा घर पसल अगाडि राख्नुपर्ने अवस्था छ । साँघुरो बजारमा ग्रामिण क्षेत्रमा चल्ने जीप तथा बस एवम् मालबाहक गाडी पार्किङले अस्तव्यस्त हुन्छ । स्थानीय सरकार प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रमुखले वर्षैपिच्छे अब बसपार्क बन्छ भनेर भाषण दिने गर्नुहुन्छ तर काम भने शुन्य छ । वडा नम्वर ३ र ११ मा पर्ने मुडकिल्लामा बसपार्क बनाउने भनिएको ठाउँ झाडी बनेको छ । यहाँ सिद्धार्थ राजमार्गमा जोडिएको खोल्साको वारिपारी गरी ६ रोपनी जग्गा बसपार्क बनाउनका लागि खरिद गरिएको हो ।
गतवर्ष साउनको सुरुमा कुनै एक कार्यक्रममा सम्वोधन गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले बजेटको व्यवस्थापन गरेर अबको १५ दिनसम्ममा बसपार्क निर्माण थालनी गरिने बचन दिनुभएको थियो ।
यसका लागि नगरबाट होस या प्रदेश तहबाट जहाँबाट भए पनि बजेट व्यवस्थापनको प्रकृयामा जाने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । तर बसपार्क बनाउने भनिएको जग्गा झाडी बनेको छ भने नगरप्रमुखको भनाई भनाईमै सीमित रहेको छ ।
यस्ता प्रतिवद्धतासहितका भाषण नगरबासीले धेरै पटक सुनेका छन् तर काम हुने सुरसार देखिदैन ।
स्थानीय निर्वाचन २०७९ अगाडि नै नगरपालिकाले जग्गा खरिद गरेर बसपार्क बनाउने नीति बनाएको थियो । अहिलेको कार्यकाल पनि तेस्रो वर्षमा प्रवेश गरिसकेको छ । गण्डकी प्रदेश सभा सदस्य माननीय महेश भट्टराई पनि गल्याङ बजारकै हुनुहुन्छ र नगरप्रमुख पनि यही ठाउँको हुनुहुन्छ । विकासप्रेमी युवा नेताको घरदैलामा हुनुपर्ने कामले गति लिन नसक्दा वा बसपार्क बनाउन भनिएको जग्गाको झाडीले गिज्याइरहेको भान हुन्छ ।


Leave A Comment