गह्रौँकोटमा बडा दशैं अवधिमा भएको आयव्याय सार्वजानिक
वालिङ,२ कात्तिक–गह्रौंकोटमा यसवर्षको बडा दशैं अवधिमा भएको आयव्यय सार्वजनिक गरिएको छ । वालिङ नगरपालिकाको ८ नम्वर वडास्थित गह्रौंसुरमा रहेको गह्रौंकोटमा यसवर्षको बडा दशैं अवधिमा भएको आयव्यय सार्वजनिक आज वालिङ नगरपालिकामा पत्रकार सम्मेलनसहित सार्वजनिक गरिएको हो ।
गल्याङ नगरपालिकाको १० नम्वर वडासँग जोडिएको गह्रौंकोट मन्दिर व्यवस्थापन समिति गठन नभैरहेको अवस्थामा वालिङ नगरपालिकाले जिम्मेवारी लिएको थियो ।
दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म संकलित रकमको आयव्याय वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले सार्वजनिक गर्नु भएको हो । मन्दिर व्यवस्थापन समिति गठन नभैरहेको अवस्थामा चैते दशैँ र विजया दशमीको पूजाको सहजीकरण वालिङ नगरपालिकाले गर्दै आएको छ । यसअघिको समिति विघटन भएपछि गत भदौ २३ गते सर्वपक्षीय बैठक बसेर नगरपालिकाले अभिभावकको रुपमा रहेर दशैँको सम्पूर्ण कार्य गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक गरिएको आयव्याय अनुसार अशोज ६ देखि २५ गतेसम्म १९ लाख १९ हजार ९१ रुपैँया संकलन भएको थियो । यसमध्ये १० लाख ४५ हजार ५ सय ३६ रुपैँया खर्च भएको छ ।
पण्डित तथा पुजारी दक्षिणा ८० हजार ८ सय १०, पाठ पण्डित दक्षिणा १५ हजार १५, श्रमिक ज्याला २ लाख १३ हजार ६ सय ५०, खानपान सामानमा २७ हजार ९ सय २५, पुजाभोग वस्तु खरिदमा ८३ हजार १ सय ५० खर्च भएको छ । यसैगरी सरसफाई समान ५ हजार ७ सय ४०, विविध सामान ढुवानीमा ९ हजार ९ सय, इन्धन ग्याँस खरिदमा १७ हजार ६ सय ८५, दाउरा खरिदमा १६ हजार १ सय ५०, पाठा तथा पाडा सफाई ज्याला १ लाख ४६ हजार ८०, विद्युतीय सामान ७६ हजार ४२, रंगरोगनको सामान खरिदमा ३० हजार ७ सय ६१, खानेपानी २१ हजार ९ सय ८६ खर्च भएको हो । कर्मचारी तलब तथा भत्ता १ लाख ४५ हजार, विविध समान खरिद ३२ हजार २ सय ७०, पेट्रोल २ हजार ४ सय ६, मन्दिर रंगरोगन ज्याला १० हजार २ सय , दशैँ शुभकामना प्रसार १५ हजार, मन्दिरको बाजा मर्मत ५ हजार, सिसिटिभि क्यामेरा ७३ हजार ६ सय, मोटर पम्प १३ हजार १ सय ६४, विभिन्न मुर्तिहरुको कपडा खरिद १७ हजार ५ सयसमेत गरी १० लाख ४५ हजार ५ सय ३६ रुपैँया खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै आम्दानीतर्फ परेवा विक्रिबाट १ लाख ४५ हजार ६ सय, पाठाको टाउको विक्रिबाट ४ लाख ३४ हजार ६००, पाठा तथा पाडा सफाईतर्फ २ लाख २४ हजार ७५०, मन्दिरको भेटि ६ लाख २ हजार ७१०, सहयोग रसिद ४५ हजार ९२६, पञ्चवली रसिद ३२ हजार ५, दानपेटिका १ लाख २८ हजार ३ सय ९५, ठेक्का बापत ३ लाख ५ हजार १ सय ५ गरी १९ लाख १९ हजार ९१ रुपैँया आम्दानी गरेको हो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले मन्दिर व्यवस्थापन समिति नयाँ निर्माण हुन नसकेपछिको अवस्थामा वालिङ नगरपालिकाले अभिभाकत्व ग्रहण गरी पूजा सहजीकरण गरेको बताउनुभयो । लामो समयसम्म पनि मन्दिर व्यवस्थापन समिति निर्माण हुन नसकेको गुनासाहरु आईरहेको अवस्थामा साधारण सदस्यहरुले नै निर्वाचन समिति गठन गरेर प्रकृयामा गईरहेको बेला नगरपालिकाले हस्तक्षेप गर्न नखोजेको उहाँले स्पष्ट पार्नुभयो ।
छिटो निर्वाचन गराउन निर्वाचन समितिलाई अनुरोध पत्र पठाउने र यदि निर्वाचन समितिले निर्वाचन गर्न नसकेको खण्डमा नगरपालिकाले अभिभावकको नाताले सहजीकरण गर्ने उपप्रमुख गैह्रेले औंल्याउनुभयो । मन्दिरसम्म जानका लागि सडकको सहजीकरण गर्ने तथा वालिङका विभिन्न स्थानहरुमा मन्दिर प्रवेशद्वार राख्न र मन्दिरसम्म जानका लागि सवारी सहजीकरण गर्न नगरपालिका प्रकृयागत रुपमा अगाडि बढ्ने उहाँले व्यक्त गर्नुभयो ।
त्यस्तै चैते दशैँमा ९ लाख ३७ हजार आम्दानी भएको र चैते दशैँको खर्च कटाएर बचत रकम र ठुलो दशैँको बचत रकम मन्दिरको बैंकमा रहेको खातामा जम्मा गरिएको पनि उहाँले जानकारी गराउनुभएको थियो । मन्दिरलाई यो स्थानसम्म ल्याई पु¥याउनेप्रति हार्दिक आभार व्यक्त गर्दै नगरपालिकाले मात्रै अभिभावकीय जिम्मेवारी लिएको उहाँको स्पष्ट्रोक्ति थियो ।



Leave A Comment