गाउँमा आरन पेशा चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
गोपाल जिटी
वालिङ, २७ मङ्सिर–कृषि औजारसहित फलामका भाँडा बनाउने कामका लागि नेपाली समाजमा विश्वकर्मा समुदायले परम्परादेखि नै गर्दै आएको पेशा हो । अहिले पनि अधिकांश विश्वकर्मा (विक) समुदाय आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिइरहेका छन् । यस्तै आफ्नो परम्परागत सीप र कलालाई निरन्तरता दिनेमा वालिङका विश्वकर्मा (विक) हरु पनि सक्रिय छन् । वालिङ नगरपालिका १४ रैपालाका विक परिवारहरुको आरने सीप र कला स्याङ्जाकासाथै विभिन्न जिल्लासम्म लोकप्रिय छ । यहाँका शिल्पीहरुले बनाएका कृषि औजारहरु विभिन्न जिल्लासम्म पुग्ने गर्दछन् । रैपालामा विकहरुको २८ घर परिवार छन् । तर आरन पेशा चलाउनका लागि आवश्यक पर्ने कोइला आफ्नै ठाउँमा पाईंदैन । बाहिरबाट ल्याउनुपर्दा गाउँबाट विस्थापित हुने अवस्था आएको रैपालाबासीको दुखेसो छ । परम्परादेखि जानेको आरन पेशा हो, यसबाट जिविकोपार्जन गर्न सकिन्छ तर गाउँठाउँमा कोइला पाउन नसक्दा विस्थापित हुने क्रम बढेको यहाँका सन्तबहादुर विक बताउँछन् ।
पहिला प्रत्येक घरमा आरन चल्थ्यो तर अहिले ३÷४ घरमा मात्र सीमित छौं, विकले भने अरु बाहितिर लागे । यहाँका दाजुभाईहरु वालिङबजार, पुतलीबजार, पोखरा, बुटवललगायतका ठाउँमा गएका छन् । ती ठाउँमा गएर पनि परम्परागत आरन पेशालाई नै आधार बनाएकोमा खुसी लाग्छ तर गाउँ खालीहुँदै जाँदा नरमाइलो लागेको विकको भनाई छ ।
यसैगरी यहाँका अर्का ६३ वर्षीय सन्तबहादुर भन्छन्—“आरन पेशाबाट गाउँमै अडिन र जिविकोपार्जन गर्न सकिन्छ, तर कोइलाको समस्या छ । गाउँघरमै कोइला बनाउन वा पाउन सके धेरै राम्रो हुनेथियो । जुनसुकै रुखको कोइला राम्रो हुँदैन, पाएसम्म सालको कोइला उत्तम हुन्छ । गाउँघरका जङ्गलमा साल काट्न पाईंदैन, त्यसै सुकेर र कुहेर गएका छन् । तिनै बुढा सालका रुख काट्न छेकथुन नहुने हो भने बुटवललगायतका ठाउँबाट कोइला मगाउन पर्दैनथ्यो, घरमै बसेर आरन चलाउन सकिन्थ्यो । यसै कुहेर जानुभन्दा प्रयोगमा ल्याउन पाउने नीति भैदिए हामीजस्ता आरन व्यवसायीका लागि धेरै राहत हुनेथियो ।”
यसैगरी यहाँका अर्का आरन व्यवसायी दुर्गाबहादुर विकको पनि भनाई उस्तै छ । सामान बनाउन सके विक्रिको समस्या छैन । अहिले धेरै ठाउँमा बाटोघाटो पुगेको छ, अर्डर अनुसार सामान बनाएर पठाउन सकिन्छ र पठाउँदै आएको छु । बुटवलदेखि कोइला ल्याउनुपर्दा लागत धेरै आउँछ । यहाँ बसेर काम गरे पनि पुतलीबजार लगायत छिमेकी जिल्लाका बजारमा आफूले बनाएको सामान पुग्ने गरेको विकले सुनाए ।
उनी भन्छन्–“सामान विक्दैन कि भन्ने समस्या छैन, स्याङ्जाकासाथै, पाल्पा, पर्वत, गुल्मी, अर्घाखाँची, बाग्लुङ र पोखरालगाएतका बजारहरुबाट अर्डर आउँछ । भाँडा पसलेहरुले माग गर्छन्, उनीहरुको माग अनुसारका सामान बनाएर पठाउँछु । गाउँठाउँमा कोइला पार्इँदैन, बुटवलदेखि ल्याउनुपर्छ । महङ्गो भएपनि जेनतेन चलाइएको छ । स्थानीय जङ्गलमा कोइला बनाउन पाए सहज हुने थियो । कोइलाको ठाउँमा विकल्प विद्युतीय माध्यम हो । यो अलिक महङ्गो पर्नजान्छ । यसका लागि स्थानीय पालिककाबाट केही सहुलियतको व्यवस्था हुनसके राहत पुग्ने थियो । यसकासाथै युवाहरुलाई पनि गाउँमै आरन पेशामा सक्रीय गराउन टेवा पुग्ने थियो ।”
पहिला पहिला वार्षिक तीन÷चार पाथी अन्नका भरमा बालीघरे काम गर्नुपथ्र्यो, अहिले त्यस्तो छैन र त्यसरी आफ्नो खर्च चल्दा पनि चल्दैन, त्यसैले केही वर्षयता नगदमा काम हुँदै आएको विक बताउँछन् । ५६ वर्षीय विकका दुई छोरा र आँफू श्रीमान श्रीमतीसहित ४ जनाको परिवार छ । दुबै छोराले आरनको काम जानेका छन् । ठूलो छोराले आफ्नो काममा सहयोग गरेका छन् भने कान्छो छोरा स्थानीय वालिङ बजारमा अटोरिक्सा चलाउँछन् । यही पेशाबाट दुई छोराको पढाई लेखाई गराएँ हुर्काएँ बढाएँ उनले भने अझ केही वर्ष त आरनको काम गर्न सक्छु ।



Leave A Comment