pokhara news

चापाकोट १ मा विपन्न परिवारका लागि शौचालय निर्माण

जेठ ८, वालिङ ।
स्याङ्जाको चापाकोट नगरपालिका १ मा विपन्न परिवारका लागि शौचालय निर्माण गरिएको छ । दलित तथा विपन्न परिवारका लागि शौचालय निर्माण कार्यक्रम अन्तरगत १६ वटा शौचालय निर्माण सम्पन्न भएका छन् । वडामा रहेका मध्ये दलित परिवार तथा दलित समुदायमा पनि विपन्न एवम् अन्य विपन्न परिवारका लागि वडाले शौचालय निर्माण गरिएको वडा कार्यालयले जानकारी गराएको छ । ३ आर्थिक वर्षको अवधिमा १६ वटा शौचालय निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष भुपराज वोस्तीले बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा ४ वटा, २०८०÷०८१ मा ८ वटा र चालु आर्थिक वर्ष २०८१÷०८२ मा ४ वटा गरी ३ वर्षको अवधिमा १६ विपन्न परिवारका लागि शौचालय निर्माण गरिएको अध्यक्ष ओस्तीले बताउनुभयो ।
वडा अध्यक्ष ओस्तीले भन्नुभयो, “म निर्वाचित भए पछिको यो ३ वर्षको अवधिमा हामीले आर्थिक अवस्था कमजोर भएका, शौचालय नभएका र कच्ची शौचालय भएका १६ परिवारको लागि पक्की शौचालय निर्माण गरेका छौँ ।” यो ३ वर्षको अवधिमा पहिलो आवमा १ लाख, दोस्रो आवमा २ लाख र चालु आवमा १ लाख गरी ४ लाख रुपैँया वडाले विनियोजन गरेर शौचालय निर्माण गरेको हो ।
वडाले निर्माणका लागि ईटा, छड, सिमेन्ट, जस्तापाता, पाईप, र सिट लगायत आवश्यक सामग्रीको साथमा प्रति शौचालय निर्माणका लागि २५ हजार मजदुर खर्च उपलव्ध गराएको हो । शौचालय निर्माणका लागि आवश्यक श्रमदान सम्बन्धित परिवारका सदस्यले नै गरेका छन् । 
४ सय १० घरधुरी रहेको वडामा दलित वस्ती १५ घर रहेका छन् । पक्की शौचालय बनाउन नसक्नुभएका विपन्न दलित तथा अन्य समुदायका लागि पनि हरेक वर्ष वडाले बजेट विनियोजन गरेर शौचालय निर्माण गर्दै आएको छ । यो अभियानले वातावरणीय स्वच्छता, व्यक्तिगत सरसफाईका साथै वडाका विपन्न परिवारको साथमा वडा छ भन्ने स्थानीयमा महसुस गराएको वडा अध्यक्ष वोस्तीको भनाई छ ।
विपन्न परिवारले वडामा शौचालय मागसहितको निवेदन दिएका आधारमा स्थलगत अनुगमन गरी वडाले बजेट व्यवस्थापन गर्दै आएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर