pokhara news

चालिसेमा आजदेखि भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ

वैशाख २४, वालिङ ।
स्याङ्जाको वालिङ १४ को चालिसेमा आजदेखि भागवत् सप्ताह ज्ञान महायज्ञ आजदेखि सुरु भएको छ ।
कालिका आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको “श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२” आजदेखि वालिङ १४ बायँखोलाको चालिसेमा शुभारम्भ भएको हो ।
महायज्ञको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले मन्दिर निर्माणसहित अनाथ आश्रम सञ्चालन एवम् अन्नक्षेत्रको विकास गर्ने अत्यन्त राम्रो उद्देश्य लिएर महायज्ञ सञ्चालन गरिनु सराहनीय कार्य रहेको बताउनुभयो । आध्यात्मिक तथा धार्मिक कार्यको माध्यमबाट सङ्कलित दानबाट अनाथ बालबालिकाहरुको पालनपोषण एवम् कोही पनि भोकै रहन नपरोस भनेर अन्नक्षेत्रको विकास गर्नु प्रतिष्ठानले अनुकरणीय कार्य गरेको उहाँले उल्लेख गर्नुभयो । नगर उपप्रमुख गैह्रेले प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप मन्दिर निर्माणका लागि नगरपालिकाले अपनत्व रहनेगरी अभिभावकीय भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकासका क्रममा कहानेर अफ्ठ्यारो पर्छ, त्यहाँनेर नगरपालिकाको साथ र सहयोग रहने उहाँले व्यक्त गर्नुभयो । समग्र नगरको विकासमा समावेशी र समानुपातिकरुपमा बजेट विनियोजन गरेर काम गर्दै आएको उल्लेख गर्दै यस्ता पूण्य कार्यहरुमा पनि नगरपालिकाको सधैं साथमा रहने उहाँको भनाई छ । यसकासाथै नगर उपप्रमुख गैह्रेले यो महायज्ञका लागि कार्यपालिकाको वैठकमा छलफल गरेर के कति सहयोग गर्ने भन्ने निर्णय गर्ने जानकारी दिनुभयो । महायज्ञ समुद्घाटनका अवसरमा उहाँले व्यक्तिगतरुपमा रु.१ लाख ११ हजार १ सय ११ प्रदान गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रममा महायज्ञका संयोजकसमेत रहनुभएका १४ नम्वर वडा अध्यक्ष बोधराज कुँवर राजुले मन्दिर निर्माणका लागि डिपिआर भैसकेपछि वडाको तर्फबाट रु.५ लाख सहयोग गर्ने घोषणा गर्नुभयो । यसकासाथै उहाँले नपुग भएको अवस्थामा वडाले थप सहयोग गर्नेसमेत विश्वास व्यक्त गर्नुभयो ।
महायज्ञ शुभारम्भका अवसरमा महायज्ञका प्रमुख कथावाचक व्यास प्रकाश तिवारीले वैदिक सनातन धर्म रक्षार्थ राष्ट्रशान्ति १०८ श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती गर्ने आफ्नो लक्ष्य अनुरुप आफ्नै जन्मस्थानबाट प्रथम अनुष्ठान सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो । देशका विभिन्न स्थानकासाथै विदेशमासमेत गरेर लक्ष्य पूरा गर्ने आफ्नो सङ्कल्प रहेको व्यास तिवारीले व्यक्त गर्नुभयो ।
प्रतिष्ठानको धाम निर्माण गर्ने, अनाथ आश्रम एवम् अन्नक्षेत्र खोल्ने, १ सय ८ शिवलिङ्ग स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका प्रमुख कथा वाचक एवम् व्यास प्रकाश तिवारीले जानकारी दिनुभयो । कथा वाचक तिवारीका अनुसार १ हजार ८ शालिग्राम पूजा आराधना, दैनिक हवन सञ्चालन, समाजमा रहेका वृद्धा, अशक्त तथा अनाथहरुको सेवागर्ने महायज्ञको उद्देश्य लिइएको छ । यसैगरी विपन्न परिवारका लागि धार्मिक संस्कार धान्न सहयोग गर्ने र विपन्नलाई खर्च जुटाई अन्त्यष्टी गर्नमासमेत सहयोग गरी कसैको कुनै संस्कार नरोकिने अवस्थाको सिर्जना गर्नका लागि महायज्ञ सञ्चालन गरिएको हो । 
श्री राधासर्वेश्वरको अनुकम्पाले भागवत् भक्तिप्राप्ती हेतु यही ३० गतेसम्म सञ्चालन हुने गरिमामय भागवत् सत्सङ्ग ज्ञान महायज्ञमा सहभागी भई धर्मानुरागी सम्पूर्ण महानुभावहरुले भगवत् ज्ञान लिन आयोजकद्वारा अनुरोध गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर