pokhara news

जिल्लाकै महत्वपूर्ण गन्तव्य गह्रौंसुरको थप विकासमा नगरपालिका लागिपर्ने—नगरप्रमुख खाँण

वालिङ, चैत १५
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले स्याङ्जा जिल्लाकै मध्येभागमा रहेको गह्रौंसुरको थप विकासका लागि नगरपालिका लागिपर्ने बताउनु भएको छ । नगर प्रमुख खाँणले धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय हिसाबले अत्यन्त आकर्षक गन्तव्य रहेको गह्रौंसुर मन्दिरको थप विकासका लागि नगरपालिका सधैं साथमा रहेको बताउनु भएको हो । 
आज शुक्रबार गह्रौंसुर मन्दिर व्यवस्थापन समितिको १३ औं अधिवेशनमा सम्वोधन गर्दै नगर प्रमुख खाँणले करिव ६ सय वर्ष पूरानो गह्रौंसुर कालिका मन्दिर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्नुभयो । यहाँको महत्व उजागर गर्दै अहिलेको अवस्थासम्म आउनुमा अग्रजहरुको विशेष योगदान रहेको नगर प्रमुख खाँणले औंल्याउनुभयो । 
उहाँले भन्नुभयोर्, विक्रम सम्वत १५५२ सालमा प्राण प्रतिष्ठासहित स्थापना भएको गह्रौंसुर मन्दिरको स्थापना कालदेखिका मन्दिर व्यवस्थापन समितिहरु, सामाजिक र धार्मिक व्यक्तित्वहरुको विशेष योगदान रहेको छ । यस अगाडिका समितिले गरेका कार्य र योगदान सम्मानयोग्य छ । जसका कारण आज यो ठाउँले गह्रौंसुरको नयाँ पूर्वाधार विकाससँगै थप व्यवस्थापनले आकर्षक गन्तव्यकारुपमा विकास भएको छ ।’
अघिल्लो समिति जति राम्रो काम गरेर यो स्थानमा ल्याएको छ, अब बन्ने समिति अझ चुस्त दुरुस्त बन्न आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो । यसको थप व्यवस्थापनसँगै प्रचार प्रसार गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले नयाँ बन्ने समितिले व्यापक छलफल गरेर भोलिका योजनाहरु तय गरेर लाग्न आग्रह गर्नुभयो । गह्रौंसुरको विकास निर्माणका लागि नगरपालिकाले भूमिका खेल्दै आएको उल्लेख गर्दै नगर प्रमुख खाँणले, अबका दिनमा पनि अभिभावकीय भूमिका बहन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह्रेले गह्रौंसुर मन्दिरको उन्नयनका लागि नगरपालिका लागिपर्ने बताउनुभयो । उहाँले वालिङसँगै छिमेकी गल्याङ नगरपालिकासँग जोडिएको र चापाकोट नगरपालिकाकोसमेत पायक पर्ने भएकाले सबैसँग हातेमालो गरेर गह्रौंसुरको विकास निर्माणमा लाग्ने व्यक्त गर्नुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर