जिल्ला प्रहरी कार्यालयद्वारा पत्रकार भेटघाट, प्रहरी प्रशासनलाई थप प्रभावकारी बनाइने
साउन ११, वालिङ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भए गरेका कार्य प्रगतिका बारेमा जानकारी गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पत्रकार भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दधिराम न्यौपानेले आर्थिक वर्ष २०८१÷०८२ मा भएका प्रमुख कार्यहरुको बारेमा जानकारी गराउनुभयो ।
एसपि न्यौपानेका अनुसार फरार प्रतिवादी महिला र पुरुष गरी कूल १ सय १८ जना पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुबाट रु. १ करोड ८७ लाख ९९ हजार ८ सय ९५ जरिवाना गरिएको छ । यसकासाथै आर्थिक वर्ष २०८२÷०८३ सुरु भए यता थप ११ जना पक्राउ पसिकेका छन् भने उनीहरुबाट ८ लाख ११ हजार ७ सय ३० रुपैयाँ जरिवाना गराइएको छ ।
यसैगरी विभिन्न मुद्दामा पक्राउ, पुर्पक्ष, धरौटी र साधारण तारेखलगाएतमा कूल २ सय ७९ मुद्दा दर्ता भएका र १ सय ४९ जना पक्राउ परेका थिए । यसमध्ये पुर्पपक्षमा ३१ जना, धरौटीमा ९८ जना साधारण तारेखमा ९ जना र जिम्मा जमानीमा ३ जना रहेका छन् । नयाँ आर्थिक वर्ष लागेपछि थप ४ जना पक्राउ परेका एसपि न्यौपानेले जानकारी गराउनुभयो । यस्तैगरी बढि घटी अपराधहरुमा आत्महत्याका ५३, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा, नैतिकता विरुद्धको कसुरमा ५२, भवितव्य ज्यान ४७, लागु औषध १४, जबरजस्ती करणी १५ र फुटकर ज्यान मुद्दा १९ थान परेका थिए ।
जिल्लामा आर्थिक वर्ष २०८१÷०८२ मा कूल ६२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमध्ये पुतलीबजार नगरपालिकामा सबैभन्दा बढि रहेका छन् । पुतलीबजारमा कूल १२ जनाले आत्महत्या गरेका एसपि न्यौपानेले जानकारी दिनुभयो । यसैगरी वालिङ नगरपालिकामा १०, गल्याङ नगरपलिकामा ९ जना र आँधिखोला गाउँपालिका र भीरकोट नगरपालिकामा ६÷६ जनाले आत्महत्या गरेका छन् । यस्तगरी बिरुवा गाउँपालिकामा र चापाकोट नगरपालिकामा ५÷५ जना तथा फेदिखोला गाउँपालिका र अर्जुन चौपारी गाउँपालिकामा ३÷३ जना रहेका छन् । हरिनास गाउँपालिकामा २ जना र कालीगण्डकी गाउँपालिकामा १ जनाको आत्महत्या भएको थियो ।
नदिजन्य पदार्थ अवैध उत्खननमा संलग्न २५ साधनबाट जरिवाना वापत रु.३ लाख ६० हजार सङ्कलन गरिएको थियो । यसैगरी विविध अवैध सामान ओसार पसार बरामदबाट रु.५३ लाख ८२ हजार २ सय राजश्व उठेको थियो । ट्राफिक कार्यवाहीबाट सबैभन्दा धेरै राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा ट्राफिक कार्यवाहीबाट मात्र रु.१ करोड ४१ लख ३१ हजार ५ सय राजश्व सङ्कलन गरिएको एसपि न्यौपानेले बताउनुभयो ।
यसैगरी अवैध काठ ओसार पसारमा २ वटा सवारी साधन काठसहित पक्राउ परेका थिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम एवम् ग्रामिण गस्तीलाई तिब्रता दिइएको र शान्ति सुरक्षालाई प्रभावकारी बनाईको एसपी न्यौपानेको दावी थियो । जिल्लाका विभिन्न स्थानमा गरी कूल १ सय २ रोपनी क्षेत्रफलमा २१ हजार ५ सय ५३ बोट गाँजा नष्ट गरिएको छ । अवैध तथा नियन्त्रित लागु औषधसहित १८ जना पक्राउ परेका थिए ।
चालु आर्थिक वर्षमा पनि यसैगरी प्रहरी प्रशासनलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिने एसपि न्यौपानेले उल्लेख गर्नुभयो । चालकहरुका लागि मापसे तथा लापसे गरेर सवारी चलाउँदाको परिणाम, कानुनी कार्यवाहीलगाएत सचेतनामूलक कार्यक्रमहरुलाई प्राथमिकता दिइने उहाँको भनाई छ ।


Leave A Comment