pokhara news

जिल्ला स्तरीय हाँजिरी जवाफमा वालिङ नगरपालिका प्रथम

मङ्सिर २२, वालिङ ।
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा आयोजित शिक्षक हाँजिरी जवाफ प्रतियोगितामा वालिङ नगरपालिका प्रथम भएको छ । “शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” भन्ने नारासहित सञ्चालन गरिएको शिक्षक हाँजिरी जवाफ प्रतियोगितामा वालिङ नगरपालिकाको पूर्णामृत भवानी माध्यमिक विद्यालय प्रथम भएको हो । यसैगरी फेदिखोला गाउँपालिकाको समूह द्वितीय भएको छ भने गल्याङ नगरपालिकाको समूहले तृतीय स्थान प्राप्त गरेको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले शिक्षा क्षेत्रमा देशको सबैभन्दा बढि लगानी भएको  बताउनुभयो । उहाँले लगानी भए अनुसार आशातितरुपमा सफलता प्राप्त गर्न नसकेको व्यक्त गर्नुभयो । सफलता प्राप्त गर्न नसक्नुका कारण शिक्षकहरुलाई जानकारी भएको र के ग¥यो भने सुधार गर्न सकिन्छ भन्ने पनि मनन गरेको हुनुपर्ने उहाँको भनाई छ । शिक्षकहरुको अनुभवलाई व्यवस्थित गर्न सक्यौं भने पक्कै पनि देशले शिक्षा क्षेत्रमा फड्को मार्नसक्छ, नगर प्रमुख खाँणले भन्नुभयो । देशलाई बर्वाद पार्नका लागि कुनै क्षेप्यास्त्र प्रयोग गर्न पर्दैन, शिक्षा क्षेत्र ध्वस्त बनाइदियो भने तहस नहस हुन्छ भन्ने हामी सबैले बुझ्नुपर्ने उहाँले व्यक्त गर्नुभयो । समाजले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो, त्यो नहुँदा पनि सोंचे अनुसारको प्रगति हुन नसकेको हो । शिक्षा क्षेत्रलाई राम्रो तरिकाले अगाडि बढाउने हो भने सबैभन्दा पहिला शिक्षकहरुको सम्मान र स्वाभिमानलाई स्वीकार गर्नुपर्छ । त्यसो गर्न सकियो भने शिक्षा क्षेत्रमा चाहेजस्तो उन्नति गर्न सकिने नगर प्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास कार्यालय स्याङ्जाका प्रकाश ओझाले प्रतियोगिता बारे जानकारी गराउनु भएको थियो ।
प्रतियोगितामा वालिङ, गल्याङ, भीरकोट, पुतलीबजार, चापाकोटगरी ५ नगरपालिका, र गाउँपालिकाहरुमा फेदिखोला, आँधिखोला र बिरुवाको सहभागिता रहेको थियो । जिल्लाका हरिनास, कालीगण्डकी र अर्जुन चौपारी गाउँपालिकाको सहभागी हुन सकेनन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले कार्यक्रमको समन्वय गरेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर