टोल टोलमा हुने तीजको रौनकता घट्यो, परम्परा मान्ने तरिका फेरिदै
भदौ २२, स्याङ्जा
हरितालिका (तीज) नेपाली नारीहरुको महान पर्व हो । यो पर्वका अवसरमा आमा दिदी बहिनीहरुले तीजका गीत गाउने र नाच्ने नेपाली समाजको मौलिक परम्परा हो ।
कृष्ण जन्माष्टमीका दिनदेखि एम एम रेडियोहरुबाट औपचारिकरुपमा तीजका गीतहरु बज्ने गर्दछन् । त्यसो त प्रविधिको विकाससँगै युट्यूवलगायतबाट असार महिनादेखि नै तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुने गर्दछन् भने भिज्युएलसहितका तीजेगीतहरु हेर्ने र सुन्ने क्रम बढेको छ । पहिलाको समयमा जस्तो प्रत्यक्ष गाउने र ताली बजाएर नाच्ने प्रचलन नभए पनि कलाकारहरुद्वारा गाइएका तिनै गीतहरुमा बजारका टोलै पीच्छे नाचेर रमाइलो हुने गर्दथ्यो । विगतका वर्षमा झैं यो वर्ष टोल टोलमा तीजका गीतमा नाचगान भएनन् ।
यसले पहिलाको झैं तीजको रौनकता घटेको हो कि भन्ने देखिन्छ । स्याङ्जाका मूख्य बजारहरु पुतलीबजार, बयँरघारी, वालिङ र गल्याङका टोलहरु प्राय सुनसान जस्तै रह्यो । विगतका वर्षसम्म आमा दिदी बहिनीहरु टोल टोलमा जम्मा भएर तीजका गीतमा नाच्ने गाउँने गरेको निकै देखिन्थ्यो । तर यो वर्ष तीजकै दिनमा पनि जिल्लाका अधिकांश स्थानहरु प्रायजसो सुनसान जस्तै रहे ।
पार्टी प्यालेस, समाज घर एवम् संघ संस्थाहरुमा भेला हुने शुभकामना आदान प्रदान गर्ने र खाजा खाने क्रमले भने प्राथमिकता पायो । तीज पर्व आउनुभन्दा महिनादिन अगाडिदेखि नै यस्ता गतिविधिहरु सञ्चालनमा आए ।
यसले समाजमा सकारात्मक प्रभावसँगै केहि विकृतिहरु पनि देखिएको वालिङ १० स्थित पूणामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु अर्याल बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ,“संघ संस्थाहरुले भेला गर्ने र शुभकामना आदान प्रदानसहित सँगै खाजा खानुले आत्मियता बढाउँछ । तर कतिपय ठाउँमा हुने गरेका आवस्यकता भन्दा बढि तडक भडक र अनियन्त्रित खानपानले भने विकृत बनाएको छ ।” हिजोको अवस्था फरक थियो, बुहारीहरुलाई हेयभावले हेर्ने र खानपानमा हुने असमानतालगाएत बिभिन्न दवाव सहनुपर्ने अवस्था थियो । त्यो समयमा वर्षदिनको तीजमा माइत जाने, मिठो मसिनो खाने र एक दुईदिन भए पनि आरामको अनुभूति गर्ने परिस्थिति थियो । जसका कारण तीजका भाकामा मनका वह पोख्ने, सँगी साथी भेटेर नाच्ने गाउने गरिन्थ्यो । तर अहिले त्यस्तो नभएको र परिवर्तनसँगै परिस्थिति पनि फेरिएको अवस्था छ, प्रधानाध्यापक अर्यालले भन्नुभयो । संघ संस्थाहरुद्वारा प्रतियोगितात्मक तीजगीत कार्यक्रमहरुको आयोजना हुनुले पनि प्रत्यक्ष गाउने र नाच्ने रहर मेटाउन सहयोग पुगेको देखिन्छ । यस्ता कार्यक्रमहरुमा सामाजिक सचेना फैलाउने र विसंगति र विकृतिका विरुद्धका आवाजका विषयलाई महत्व दिइएको पाइन्छ, भने यसलाई राम्रो पक्ष मान्न सकिन्छ । पछिल्लो समय आर्थिक चलायमानमा कमि हुनु र युवा शक्ति बाहिरिनुलगाएतका कारणले पनि टोल टोलमा नाच्ने क्रम घटेको हुनसक्ने अर्यालको धारणा छ ।
यसैगरी गल्याङ बजारमा होटल व्यवसाय गर्दै आउनुभएका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका पूर्व अध्यक्ष नेत्रप्रसाद पाण्डेको भन्नुहुन्छ—कमाई अथवा आर्थिक ठूलो कुरा होइछ । आम्दानी घटेकाले पनि यस्तो भएको हुनुपर्छ । शुभकामना आदान प्रदानसहितका कतिपय भेलाहरुमा साकाहारी खाजाको प्रयोग भएको पनि देखियो ।
यसकासाथै बिभिन्न संघ संस्थाहरुद्वारा आयोजित भेला तथा शुभकामना कार्यक्रमले महत्व पाएसँगै तीजका अवसरमा अनौपचारिकरुपमा गरिने नाचगानमा कमि आएको पनि हुनसक्ने उहाँको धारणा छ । प्रतिष्ठानका पूर्व अध्यक्ष पाण्डेका अनुसार तीज आउनुभन्दा १५ दिनदेखि हरेका साँझ तीजका गीतले गुञ्जाएमान हुने र नाचेर रमाइलो गरिने गल्याङ क्षेत्र अहिले प्राय सुनसान रहे ।
यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका वर्तमान उपाध्यक्ष तारा पौडेलका अनुसार जिल्ला सदरमुकाम पुतलीबजारमा पनि औपचारिक कार्यक्रम बाहेक अरु बेला कतै नाचगान भएनन् । तीजको दिन त बजार झन सुनसान रह्यो ।
आमा समूहलगाएत बिभिन्न संघ संस्थाहरुद्वारा पार्टी प्यालेस केन्द्रित कार्यक्रमहरुको आयोजना हुनु र यूट्युवलगाएतका प्रविधिमा भुल्ने गर्नाले पनि मौलिक परम्परामा कमि आएको हुनसक्ने वालिङ ८ बगाले टोलका लक्ष्मण बगालेको तर्क छ ।
पहिलो कुरा धेरै युवाहरु बाहिर छन् । यसकासाथै गाउँ समाजमा मानिस कम छन्् भने अर्को कुरा हात हातमा मोवाइल छ युट्युवले भुलाएको छ । यसैगरी चाडपर्वको महत्व पनि कम हुन थालेको हो कि भन्ने वालिङ १ रामबाच्छाका कष्णवन्धु काफ्लेको धारणा छ ।
सामाजिक परिवर्तन र विकासक्रमसँगै तीज पर्वको परम्परा मान्ने र मनाउने तरिका पनि फेरिन थालेको हो कि भन्ने देखिन्छ ।



Leave A Comment