pokhara news

देशमा केहि छैन भनेर भ्रम सिर्जना गर्नु हुँदैन ः मन्त्री बस्याल

कात्तिक—२६, वालिङ ।
गण्डकी प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले देशमा केहि छैन भनेर भ्रम सृजना गर्न नहुँने बताउनुभएको छ । आज सोमबार दुर्गाखिमा फाउण्डेसनले वालिङमा आयोजना गरेको जिल्लास्तरीय वक्तित्वकला प्रतियोगिताका अवसरमा बोल्दै मन्त्री बस्यालले सरकारका केहि कमिकमजोरी भएपनि देशमा केहि छैन भनेर भ्रम सिर्जना गर्न नहुँने बताउनुभएको हो ।
विधि र पद्धतिलाई गलत भन्न नहुँने भन्दै हिँजोका अवस्था फर्केर आज हेर्दा धेरै परिवर्तन भएका छन् । उतार चढाव व्यक्तिका जीवनमा आईरहने भन्दै आफ्नो कर्तव्य र अधिकार भुल्न नहुँने उहाँको भनाई थियो । वैदेशिक मोह बढिरहेको अवस्थामा यसलाई समाधान गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा मन्त्री बस्यालको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले भ्रष्टाचारीलाई किनारा लगाउनुपर्ने बताउनुभयो । सभापति अर्यालले भ्रष्टाचारीको कुनै पार्टी नहुँने र आफ्ना स्वार्थमा लिप्त हुने जुनजुकै पार्टीको भएपनि भ्रष्टाचारीलाई फाल्नुपर्नेमा जोड दिनुभयो । सरकारले भनेजस्तो काम गर्न नसकेको सबैले स्वीर्कानुपर्ने भएपनि देशमा केहि छैन् भनेर भ्रमित हुनुपर्ने अवस्था भने नरहेको सभापति अर्यालले उल्लेख गर्नुभयो । त्याग र बलिदानीका कारण प्राप्त लोकतन्त्रलाई स्थापित गर्न सबैएकजुट हुनुपर्ने भन्दै यसका लागि सबै पहरेदार हुनुपर्ने उहाँको भनाई छ ।
जिल्लाभरीका मावि तहबाट २८ जना सहभागिता रहेको प्रतियोगितामा “बढ्दो बैदेशिक आर्कषण, कारण र समाधान” विषयमा विद्यार्थीले आ—आफ्ना प्रस्तुति प्रस्तुत राखेका थिए । प्रतियोगितामा पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङका पोषकान्त लुईटेल प्रथम भएका छन् । यसैगरी भानुभक्त आचार्य मावि गल्याङका मन्जुश्री अधिकारी द्वितीय र बालोदय आवासीय मावि भीरकोटका विनिसा खनालले  तृतीय स्थान हाँसिल गरे । यस्तैगरी दहथुम मावि भीरकोटका स्मारिका अर्याल र नेपाल राष्ट्र मावि गल्याङका लक्ष्मी पाठक गरी दुईजना सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः नगद रु. २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा डा तुल्सी खनाल, भेषजराज प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र डा. शालिकराम सुवेदी निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमको व्यवस्थापन भेषजराज साहित्य प्रतिष्ठानले गरेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर