दोस्रो ठूलो पर्व तिहार, मौलिक परम्परा भैलो र देउसी
कात्तिक—१५, वालिङ ।
वर्षभरिका ठूला पर्वमध्ये तिहार पनि एक हो । नेपाली समाजमा दशैंपछिको दोस्रो ठूलो चाडकारुपमा तिहारलाई लिइन्छ । तिहार पर्वलाई भैलो र देउसीले घर, गाउँ अनि सिङ्गो समाजलाई नै रमाइलो बनाउँछ, जुन परम्परादेखिको प्रचलन हो ।
नेपाली समाजमा यस्ता बिभिन्न पर्वहरु छन् जुन परम्परादेखि निरन्तर चल्दै आएका हुन् । हरेक पर्व मनाउने तरिका र आ—आफ्नै शैलीका छन् । यसमध्ये तिहारमा गाइने भैलो र देउसीको आफ्नै मौलिकपन छ । तिहार भैलो र देउसीसहितको रमाइलो चाड हो । यसकासाथै घर वरिपरी बत्ती बालेर झिलिमिली पारिने भएकाले उज्यालोको पर्वकारुपमा पनि मानिन्छ ।
तिहार पर्व विशेष गरी नारी सम्मानकारुपमा पनि बुझ्न सकिन्छ । यो पर्वमा दिदी बहिनीहरुले दाजुभाईलाई टीका लगाइदिने र दीर्घ जीवनको कामना गर्ने प्रचलन छ भने दाजुभाईहरुबाट दिदी बहिनीहरुलाई सम्मानस्वरुप दान दक्षिणासहित कोशेली दिने गरिन्छ ।
यसका साथै विभिन्न पशुपंक्षी तथा चराचरको समेत पूजा गर्ने परम्परा छ । जस्तैः काग, कुकुर, गाई र गोरुकोसमेत पूजा गरिन्छ । यसले प्राणीहरुलाई सम्मान गर्नुपर्छ भन्ने बुझ्न सकिन्छ । यो परम्परा कहिलेदेखि चल्दै आयो भन्ने कुनै तीथि मिति उल्लेख भएको पाईंदैन, यो आदिमकालदेखि चल्दै आएको संस्कृति हो ।
यसैगरी तिहारमा घर घरमा गई भैलो देउसी गाउने र नाच्ने परम्परा छ । भैलो देउसी गाउँदै नाच्दै धनधान्यकि देवी लक्ष्मीको पुकार गर्नु, आशिष दिनु÷लिनु यसको विशेषता हो । योसँगै भैलो र देउसीगीत गाएर नाच्ने र दक्षिणा थाप्ने परम्परा सदियौंदेखि नेपाली समाजमा विद्यमान छ ।
झिलीमिली बत्तीसहित उज्यालोको पर्व तिहारलाई थप उल्लासमय बनाउने काम भैलो देउसीेले गरेको हुन्छ । “हामी त्यसै आएनौं, बलि राजाले पठाएका” यो गीत अहिले पनि देउसी भैलोगीतमा भट्याउने गरिन्छ । यसबाट उ बेलाका राजाको सम्मानस्वरुप गाइएको भन्ने आँकलन गर्न सकिन्छ । योसँगै तिहारमा भैलो देउसीगीत गाउने र नाच्ने परम्पराले निरन्तरता पाउदै आएको हो भनेर बुझिन्छ । तिहार सुरु भएदेखि भाईटीकाको अघिल्लो दिनसम्म भैलीगीत गाउने नाच्ने गरिन्छ । वास्तवमा भैली गाउने र नाच्ने दिदी बहिनीहरुले गर्ने हो । त्यसैले त गीत नै छ नि, “भैलिनी आइन आँगन गुन्यु चोली मागन, हे औंसीको बार गाई तिहार भैलो ।”
यसैगरी तिहारको दिन दिदीबहिनीबाट टीका लगाइसकेपछि दाजुभाईहरु कोही लिङ्गे पीङ खेल्ने त कोही देउसी खेल्न घरघरमा जाने प्रचलन हो ।
हाम्रा मौलिक परम्परा र संस्कृति अमूल्य नीधि हुन् । किनकि यहाँको भौगोलिक सुन्दरता र सांस्कृतिक विविधता हेर्नका लागि विश्वका धेरै मानिसहरु नेपाल आउने गर्दछन् । नेपालको भौगोलिक सुन्दरतासँगै भाषिक विविधता, संस्कार संस्कृति र परम्परागत अनेकता नेपाल र नेपालीको विशेषता हो । यसलाई बचाइराख्नु हामी सबैको दायित्व हो । नेपाली लोक तथा दोहोरीगीतलगाएतका विषयमा अनुसन्धान गर्न पश्चिमा मुलुकका मानिसहरु पनि आकर्षित भएका देखिन्छन् । जुन परम्परा र संस्कृतिसँग मानव सभ्यता र विकाससँग प्रत्यक्ष सम्बन्ध राखेका हुन्छन् । त्यसैले हामी हाम्रा मौलिक संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्छ । यसका लागि नयाँ पुस्तालाई आफ्नो परम्परागत संस्कार संस्कृति सम्बन्धी सूसुचित गर्दैजान आवस्यक हुन्छ र मात्र यसले पछिल्लो पुस्तासम्म निरन्तरता पाइरहन्छ ।
अग्रजहरुका अनुसार तिहारदेखि सोरठी गाथाकोसमेत सुरु हुन्छ । सोरठीलाई गीति नाटक वा ठूलो नाच पनि भन्ने गरिन्छ । कृष्ण चरित्रमा आधारित सोरठी गीति गाथाको छुट्टै विशेषता छ । तिहारदेखि सुरु हुने सोरठीको माघे संक्रान्तीमा समापन गरिन्छ ।
पछिल्लो समय शहर बजारमा तिहारे संस्कृतिका नाममा भडिकलो नाचगान गर्ने, पटका पड्काउनेलगाएतका गतिविधीहरु हुने गरेका देखिन्छन् । यो अवस्य पनि राम्रो होइन । संस्कृतिका नाममा विकृति ल्याउने गतिविधीलाई निस्तेज पार्नुपर्छ । चाडपर्वलाई सुसंस्कृत र मर्यादित बनाऔं, मौलिक परम्परालाई निरन्तरता दिऔं ।



Leave A Comment