pokhara news

धर्मले समाजलाई अनुशासित बनाउँछ— पूर्व मन्त्री अर्याल

वैशाख २३, वालिङ ।
नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्यालले धर्मले समाजलाई अनुशासित बनाउँने बताउनुभएको छ । मङ्गलबार वालिङमा सञ्चालित श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । यही वैशाख १७ गतेबाट शुरु भएको धार्मिक अनुष्ठानको मङगलबार समापन गरिएको हो । धार्मिक स्वतन्त्रता संविधानले दिएको र धार्मिक आस्थाले व्यक्तिलाई अनुशासित, मर्यादित र नैतिकवान बनाउने उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रगुरु योगी नरहरीनाथले वालिङमा केदारनाथ नामाकरण र स्थापना गरिदिनुभएको स्मरण गर्दै केदारनाथ मन्दिरको थप उन्नतिका लागि वालिङबासीको क्रियाशिलता र एकता प्रशंसनीय रहेको पूर्व मन्त्री अर्यालले औंल्याउनुभयो । उहाँले सनातनी धर्म सबैभन्दा उत्तम धर्म रहेको र धार्मिक आस्थाले समाजलाई अराजकताबाट सहि मार्गमा डोहो¥याउन महत्वपूर्ण सहयोग रहने धारणा राख्नुभयो । कतिपय सामाजिक कार्यमा राजनीति गर्ने परिपाटी रहेको र यो राम्रो नभएको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो,“ राजनीति विचार आफ्नो ठाउँमा छ । चुनावमा प्रतिष्पर्धामा हो राजनीति गर्ने, सामाजिक काममा हामी सबै मिलेर वा एकजुट भएर पवित्र भावना गर्नुपर्छ । धार्मिक कार्यहोस वा अरु कुनैपनि सामाजिक कार्य किन नहोस हरेक ठाउँमा यसैगरी हातेमालो गरेर अगाडि बढ्नुपर्छ र मात्र विकासले गतिलिन्छ ।”
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद सरस्वती अर्याल तिवारीले केदारनाथ मन्दिरको महत्व र मर्म बुझेर महायज्ञको आयोजना गरिएको व्यक्त गर्नुभयो । स्याङ्जाका धार्मिक तथा ऐतिहासिक महत्व रहेका स्थलहरुको विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ । साथै उहाँले यहाँ आउने पर्यटकलाई वालिङमा रहने वातावरण सिर्जना गर्न, विश्राम गर्ने, खाना खाने बस्ने व्यवस्था गर्ने भवन निर्माण जस्ता पवित्र उद्देश्य पूरा गर्न महायज्ञ सफल भएको उहाँले बताउनुभयो । यसैगरी प्रदेश पूर्व सांसद मोहन रेग्मीले धार्मिक अनुष्ठानको माध्यमले पनि विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसकासाथै समाजलाई सुसंस्कृत बनाउदै लैजानु धार्मिक अनुष्ठानको अर्को विशेषता रहेको उहाँको भनाई थियो ।
वालिङ ८ स्थित केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा अनुष्ठान सञ्चालन भएको हो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर