धार्मिक र सांस्कृतिक महत्वको गह्रौँसुर मन्दिरको आकर्षण बढ्दै
असोज २६, वालिङ ।
गह्राैंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रशिद्ध स्थल हो । यो धार्मिक र सांस्कृतिक महत्व रहेको एक पर्यटकीय गन्तव्य हो । यहाँ बडा दशैंको नवदुर्गामा पूजाआजा एवम् दर्शन गर्ने परम्परादेखिकै प्रचलन हो । अरु समयमा पनि विशेष तीथिहरुमा पूजाआजा गर्न सकिन्छ भने दर्शन एवम् अवलोकनका लागि सधैं आउन सकिन्छ । वालिङ नगरपालिकाको वडा नम्वर ८ र १० मा पर्ने गह्राैंसुर गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि दक्षिण काफलडाँडा ७ किलोमिटर कच्ची र त्यहाँदेखि ३ किलोमिटर पक्की सडक गरी कूल १० किलोमिटरको दुरीमा रमणीय गह«ौंसुर रहेको छ ।
चौविसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिकाको स्थापना गरेको मानिन्छ । गह्रौँकालिका जागृत देवी भएकाले पनि यहाँ भाकल गर्दा दर्शनार्थी तथा भक्तजनको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । गह्रौँसुर समुद्र सतहदेखि एक हजार पाँच सय ९६ मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व रहेको गह्रौँसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले जो कोही पनि आनन्दित पार्ने यहाँको विशेषता रहेको छ ।
पहिलाको भौतिक संरचना सुधार एवम् व्यवस्थित हुँदैजाँदा र गह«ौंसुरको महिमा बुझ्दै र बुझाउँदै जाँदा आकर्षण बढ्दै आएको देखिन्छ । पछिल्लो समयमा गरिएको साजसज्जा र व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकसित हुँदै आएको छ । योसँगै वालिङकै एक महत्वपूर्ण र पर्यटकीय स्थल बनेको छ ।
यसैबीच गह्रौँसुर भगवती मन्दिरमा यस पटकको बडादशैँको नवदुर्गा अवधिभर भक्तजनहरुको सहभागिता उल्लेखनीय रह्यो । नवदुर्गाको प्रारम्भमा घटस्थापना गरी पूजापाठ एवम् बलि पूजा हुने गह्रौँसुर भगवती मन्दिरमा विगतका वर्षको तुलनामा अझ बढि दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
गह्रौँसुरको ऐतिहासिक महत्व, व्यवस्थापकीय सुधार एवम् सडक यातायातको सुविधाका कारण भक्तजनको आकर्षण बढ्दै आएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।
कोषाध्यक्ष गुरुङका अनुसार यो दशैंको नवदुर्गामा मात्र करिव १२ हजार भक्तजनहरुले मन्दिर दर्शन तथा पूजामा सहभागिता जनाएका छन् । १५ वटा पञ्चवली पूजा भएको छ भने नवमीका दिनसम्म ३ सय २५ वटा पाठाको बलि पूजा भएको छ । सुरुका दिनदेखि नै मन्दिरमा भक्तजनहरु आउने गरेका हुन् । यहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म एकादशी र चौँथीबाहेकका दिन पूजाआजा हुने गर्दछ ।
भगवती र कालिकादेवीको मन्दिर, सुविधासम्पन्न अतिथि गृहकोसाथमा खानेपानीको सहज उपलब्धता रहेको छ । यहाँको ऐतिहासिक महत्व झल्किने कोतघर निर्माण, धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडक तथा पदमार्गको सुविधा छ । यसैगरी आकर्षक प्रवेशद्वार, दृश्यावलोकन केन्द्र, मन्दिर परिसरमा ढुङ्गा तथा टायल लगाएको सफा र सुन्दर भएकाले भक्तजनहरुको विशेष आर्कषण बढेको सहजै अनुमान गर्न सकिन्छ । यसैबीच नवनिर्मित थप मन्दिरहरुको यही असोज ३० गते उद्घाटन गरिँदैछ ।



Leave A Comment