pokhara news

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो

असार २८, स्याङ्जा
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित झण्डै ६५  जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

उहाँकाअनुसार काठमाडौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवकाअनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उहाँले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले दिनुभएको जानकारी अनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो ।
बुटवलबाट काठमाडौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर