pokhara news

पशुपालनमा नयाँ प्रविधि भित्र्याउनुपर्नेमा पशुपालक किसानहरुको जोड

असार ३०, स्याङ्जा
पशुपालनमा नयाँ प्रविधि भित्र्याउनुपर्नेमा पशुपालक किसानहरुले जोड दिएका छन् । परम्परागत प्रणालीमा गरिने पशुपालनले प्रतिफल कम दिने भन्दै किसानहरुले प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएका हुन् । घाँस काट्ने मेसिन, हरियो घाँस भण्डारण कक्षलगायतमा नयाँ प्रविधि भित्र्याउन सकियो भने पशुपालनबाट फाईदा लिन सकिने किसानहरुको भनाई छ । आईतबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले चालु आर्थिक वर्षमा सञ्चालिक कार्यक्रमहरुको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा पशुपालक कृृषकहरुले यस्तो बताएका हुन् । अनुदानका कार्यक्रम भन्दा सहुलियत दरमा ऋण प्रवाह गनुपर्ने किसानहरुको धारणा छ ।
अनुदानका कार्यक्रमले विकृत्ति निम्त्याएको भन्दै स्थानीय तह मार्फत किसानहरुलाई बिना ब्याज तथा सहुलियत दरमा मापदण्ड निर्माण गरी ऋण प्रवाह गरेमा राम्रो हुने किसानहरुको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत रुपमा भन्दा व्यवसायिक रुपमा फराकिलो ढङ्गले कृषि व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । सामुहिक रुपमा धेरै पूँजी लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने भन्दै कृषि उपजको बजारीकरणमा विचौलियाको हाबीलाई अन्त्य गर्नुपर्नेमा उहाँको औंल्याउनुभयो । कृषकको समृद्धिले मात्र मुलुक तथा स्थानीय तह समृद्ध हुन सक्ने भएकाले कृषि उत्पादकत्वमा जोड दिनुपर्ने र कृषकहरुको हितमा काम गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कार्यालय प्रमुख डा.रुपेस श्रेष्ठले कार्यालयले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगतिका विषयमा कार्यपत्र पेश गर्नुभएको थियो । २ लाख ५३ हजार २४ जनसंख्या रहेको स्याङ्जामा ६८ हजार ९ सय २३ घरधुरी रहेका छन् । ति घरधुरी मध्ये ४५ हजार २ सय १२ घरधुरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पशुपालनमा लागेको कार्यालयको तथ्यांक छ । १ लाख १ हजार ६ सय ४९ हेक्टर क्षेत्रफल रहेको स्याङ्जामा ३२ हजार ४ सय ५० हेक्टर खेतियोग्य  जमिन रहेको छ भने २० हजार ७ सय ३३ हेक्टर वन जङ्गलले ओगटेको छ ।
त्यस्तै ४ हजार ४ सय ५८.९४ हेक्टर चरन क्षेत्र रहेको छ । स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर रहेको केन्द्रको तथ्यांकले देखाएको छ । प्रतिव्यक्ति ९१ लिटर दुध हरेक वर्ष आवश्यक रहेकोमा स्याङ्जामा प्रतिव्यक्ति १ सय १२ लिटर दुध उपलब्ध छ । त्यस्तै प्रतिव्यक्ति १४ केजि मासु आवश्यक पर्नेमा स्याङ्जामा १४ केजि नै उपलब्धता छ । यो परिणाम हरेक वर्षका लागि हो । त्यस्तै ४८ अण्डा प्रतिव्यक्ति आवश्यक पर्नेमा २ सय ३१ वटा अण्डा उपलब्ध रहेको केन्द्रका प्रमुख डा.श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख गरिएको  छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर