pokhara news

पाठखोलामा सञ्चालित महायज्ञको आय व्यय सार्वजनिक

भदौ ८, वालिङ ।
स्याङ्जाको वालिङ १३ पाठखोलास्थित शिव पार्वती त्रिवेणीधाममा सञ्चालित ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । गत साउन १ देखि ३१ गतेसम्म सञ्चालित शिव पुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञको आज पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरिएको हो ।
महायज्ञबाट सम्पूर्ण खर्च कटाएर कूल १३ लाख ४० हजार ३ सय ९० बचत भएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिपेन्द्र गैह्रेले जानकारी गराउनुभयो । संयोजक गैह्रेद्वारा प्रस्तुत हिसाब अनुसार महायज्ञमा कूल ३२ लाख ७२ हजार १ सय २८ आम्दानी भएको थियो । दान सहयोग, दान पेटिका, आरती, विभिन्न झाँकी, तण्डुलाचलमा जम्मा भएको चामल विक्रिलगायतबाट उक्त आम्दानी भएको हो । यसमध्येबाट महायज्ञ प्रचार प्रसार, महायज्ञ व्यवस्थापन, दान दक्षिणा, पूजा सामग्रीलगायतमा गरी रु. १९ लाख ३१ हजार ७ सय ३८ खर्च हुँदा कूल रु. १३ लाख ४० हजार ३ सय ९० बचत हुन आएको हो । 
बचत रकम विभिन्न बैंक खातामा राखिएको अध्यक्ष गैह्रेले बताउनुभयो । महायज्ञबाट बचत रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने अध्यक्ष गैह्रेले उल्लेख गर्नुभयो ।
कार्यक्रममा महायज्ञका कथा वाचक तथा व्यास प्रकाश तिवारी र पण्डित नारायण डुम्रेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर