पिङ्कसिटी महोत्सवमा दर्शकहरुको भीड
फागुन २४, वालिङ ।
यही फागुन २१ देखि स्याङ्जाको वालिङमा प्रथम पिङ्कसिटी महोत्सव वालिङ २०८१ सञ्चालन भैरहेको छ । सुरु भएदेखि दैनिक जसो महोत्सव स्थल खेलमैदानसँगै वालिङ बजारमा दर्शकहरुको आगमन बढिरहेको छ । वालिङ चेम्वर अफ कमर्श वालिङद्वारा आयोजित महोत्सव चैत्र ३ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सव सञ्चालनको चौथो दिन आज शनिबार दर्शकहरुको निकै भीड लाग्यो । विदाको दिन भएकाले पनि आज दर्शकहरुको निकै बाक्लो उपस्थिति लागेको हो । सुरुका दिनदेखि नै क्रमिकरुपमा बढिरहेको अवस्थामा आजको चौथो दिन हजारौंको सङ्ख्यामा दर्शकहरुले उपस्थिति जनाए । स्टलहरु, बाल उद्यान, पीङकासाथै स्टेज अगाडिको भाग भरिभराउ थियो । आजमात्रै १५ हजार बढिले महोत्सव अवलोकन गरेको आयोजकको अनुमान छ ।
वालिङमा सञ्चालन हुने महोत्सवमा दर्शकहरुको राम्रै उपस्थिति हुने गर्दछ भन्ने विगतका मेला महोत्सवले देखाएको हो । महोत्सव शुरु भएको आज शनिबार चौथो दिनसम्मको उपस्थितिले विगतको साख कायम गर्दै भव्यताकासाथ सम्पन्न हने सङ्केत गरेको छ । आयोजकले पहिलो अनुभवकोरुपमा लिएको महोत्सव के होला भन्ने अन्यौलजस्तै थियो । दर्शकहरुको दैनिक उत्साहजनक उपस्थितिले प्रथम पिङ्कसिटी महोत्सव सफलोन्मुख देखिएको छ ।
राज्यले सामाजिक सुरक्षा सेवा प्रदान गर्दै आएको वर्गलाई आयोजकले निःशुल्क प्रवेशको सुविधा प्रदान गर्नु महोत्सवको नयाँ विशेषता रहेको छ । जस्तै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई महोत्सवमा निःशुल्क सुविधा छ भने ५ वर्षमुनिका बालबालिकाहरुका लागि पनि शुल्क लाग्दैन । यसैगरी विद्यार्थीहरुको हकमा पनि ३० प्रतिशत छुट सुविधा रहेको छ ।
मेला महोत्सव उस्तै उस्तै हुन् भन्ने बुझाई रहे पनि यस पटक आयोजकले केही नयाँपन दिनु थप आकर्षण बनेको छ । जस्तै स्याङ्जा किड्स डान्स आइडल, प्रचारात्मक टिकटक प्रतियोगिता एवम् बहु चर्चित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षण हुन् । पछिल्लो समय चर्चाको शिखरमा रहेका राष्ट्रिय कलाकारहरु यो महोत्सवमा देख्न पाइने छ ।
पछिल्लो समय चर्चाको शिखरमा रहेका शान्तिश्री परियार, प्रकाश दुतराज, खेम सेन्चुरी, नायक पल शाह, शान्तारानी परियार, सुमन विटीको साथमा पूर्णकला विसीलगायत रहेका छन् । साथमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जा मातहतका नवप्रतिभाहरुको प्रस्तुतिलाई पनि महोत्सवले समेटेको छ । महोत्सवको तेस्रो दिनसम्म राजु परियार, शिला आले तारापति सुवेदी, प्रिति आले, मञ्जु .विक, चेतन गोतामे, हास्य कलाकार सागर लम्साल बलेलगायतको प्रस्तुति दर्शकहरुले हेरिसकेका छन् । यस्तैगरी आज शनिबारका दिन राजु गुरुङ, सम्झना लामिछाने, कुमार पुनलगायतका प्रस्तुतिले दर्शकहरुलाई निकै रमाइलो गराएको थियो । डान्स आइडलको साथमा नेत्र खड्का, राजेश भण्डारी, जगत गौडेल तनु बलामी मगर, रोशन विसीलगायतको प्रस्तुति रहेको थियो । अब बरिष्ठ कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेलगायत पछिल्लो समयका चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक उपसमितिका संयोजक भीमनारायण कोईरालाले जानकारी गराउनुभयो ।
विद्यालय स्तरीय नृत्य, रत्यौलीगीत र खुल्ला भलिबल प्रतियोगिता जस्ता स्थानीय प्रतिभाका कार्यक्रमहरु महोत्सवमा थप आकर्षण रहेका छन् ।
कृषि प्रदर्शनी, पुस्तक प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकलासम्बन्धी सामग्रीहरु, बाल उद्यान, फेन्सी पसल, खाजा पसललगायत ३ सय बढी स्टलहरु महोत्सवमा रहेका छन् ।


Leave A Comment