पुष्पलाल जयन्तीको अवसरमा ‘हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
असार— १४ वालिङ ।
नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता स्व. पुष्पलाल श्रेष्ठको १०२ औं जन्मजयन्तीको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा ‘हाम्रो दायित्व’ विषयक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार स्याङ्जाको वालिङ नगरमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख आमन्त्रित नेकपा एमालेका सचिव एवम् नेपाल सरकारका पूर्वमन्त्री पद्मा अर्याल रहनुभएको थियो ।
उहाँले पुष्पलाल श्रेष्ठको वैचारिक योगदान र सैद्धान्तिक दृढतालाई स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पुष्पलालले देखाएको मार्ग र विचार आज पनि हामी नेपाली समाजको रूपान्तरणका लागि उत्तिकै सान्दर्भिक छन् । हामीले उहाँको विचारलाई आत्मसाथ गर्दै व्यवहारमा उतार्नुपर्छ ।”
अहिलेको सत्ता सहकार्य राजनीतिक स्थायित्वका लागि भएको हो । देशमा जुन सङ्कट छ, त्यसको न्युनिकरण गर्दै थप सङ्कट हुन नदिनका लागि सहकार्य गरिएको हो । सकिन्छ थप प्रगति गरौं सकिदैन भने पनि अरु विग्रिन नदिनका लागि सत्ता सहकार्य गरिएको यो कुनै पार्टीको नीति र सिद्धान्त विपरित नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “खास खास बेलामा राष्ट्र र जनताको निम्ती सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने पुष्पलालको सिद्धान्त अनुसार सहकार्य गरेर अगाडि बढेको हो ।”
यसैगरी मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको विचारले राजनीतिलाई मार्ग निर्देशन गरेको छ । पछिल्लो जतिपनि राजनीतिक परिवर्तन भएको छ त्यो जनताको बहुदलीय जनवादको जगमा टेकेर भएको नेता अर्यालले औंल्याउनुभयो । योसँगै नेकपा एमालेले राजनीतिक नेतृत्व गरिरहेको उहाँको भनाई थियो । उहाँले कुनै नीति, सिद्धान्त र दृष्टिकोण नभएका अनि क्षणिक उत्तेजना एवम् अराजकतावादको विरुद्धमा उभिएर आम नागरिकहरुको बीचमा जान नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष चक्रबहादुर पराजुलीले नेपाली कम्युनिष्ट आन्दोलनका उज्ज्वल नक्षत्र “पुष्पलाल—मदन भण्डारी र हाम्रो दायित्व” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा उहाँले पुष्पलालको जीवन–वृतान्त, राजनीतिक योगदान, सिद्धान्तप्रतिको प्रतिबद्धता र उहाँले सुरू गरेको वाम आन्दोलनको प्रभावमूलक विश्लेषण गर्नुभएको थियो । साथै, वर्तमान राजनीतिक परिस्थिति र नागरिक–राजनीतिक नेतृत्वबीचको उत्तरदायित्वबारे समेत सशक्त रूपले उजागर गर्नुभएको थियो । यसैगरी नेपाली कम्युनिष्ट आन्दोलनका अव्वल नेता स्वर्गीय मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको वैज्ञानिक महत्व, सामाजिक रुपान्तरणमा प्रभावकारिता र नेपाली समाजको आवश्यकताका सन्दर्भमा चर्चा गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय, प्रदेश तथा जिल्लास्तरकासाथै वालिङ नगर क्षेत्रका पार्टी नेता, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, प्रतिष्ठानका सदस्यहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमको व्यवस्थापन नेकपा एमाले वालिङ नगर कमिटीको सक्रीय व्यवस्थापनमा सम्पन्न भएको हो ।
कार्यक्रमले पुष्पलालको सैद्धान्तिक जीवनबाट प्रेरणा लिएर समाज रूपान्तरणमा लाग्ने प्रतिबद्ध नागरिकको अपेक्षा गरेअनुरूप सफलतापूर्वक वैचारिक बहसको माहोल सिर्जना गर्न सकेको सहभागीहरूको भनाइ थियो । यस्ता कार्यक्रमहरू निरन्तर गर्दैरहने प्रतिष्ठानले जनाएको छ ।


Leave A Comment