pokhara news

प्रथम वालिङ सडक खाना महोत्सव सुरु भयो

गोपाल जिटी
वालिङ, १७ मङ्सिर–स्याङ्जाको वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव सुरु भएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय उत्पादन वृद्धि हाम्रो चाहना” भन्ने नाराका साथ मौलिक खाना प्रवद्र्धनको लागि आयोजित महोत्सवमा विभिन्न विद्यालय, समूह, तथा जातीय संघ संस्थाहरुले आ–आफ्ना परिकारका स्टलहरु राखेका छन् ।

महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले स्याङ्जाको केन्द्रमा रहेको वालिङ नगरपालिकाले सीमित स्रोत र साधनका बाबजुत पनि नमुना कार्यहरु गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय नागरिकहरुमा भाषण प्रति भन्दा मनोरञ्जन र खेलकुदमा बढी आकर्षण हुने भन्दै वालिङ नगरपालिकाले समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै नागरिकको मन जित्ने प्रयास गरेको प्रमुख जिटीले औंल्याउनुभयो । स्थानीय मेला महोत्सवमा जैविक तथा मौलिक परिकार र उत्पादनहरुको बजारीकणसमेत हुने भएकाले समय समयमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने यस्ता कार्यक्रमहरु भईरहनुपर्नेमा उहाँले जोड दिनुभयो । स्वस्थ नागरिका लागि घरघरबाट विषादी रहित उपजहरु उत्पादनमा नगरपालिकाले अभिप्रेरित गर्नुपर्नेमा प्रमुख जिटीको जोड छ ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँंणले सडक खाना महोत्सवले यहाँका नागरिकलाई फरकपन दिने प्रयास गरिएको र स्थानीय तथा रैथाने स्वाद र उत्पादन विक्रि गर्ने थलोको रुपमा विकास गर्न खोजिएको बताउनुभयो । वालिङलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमासमेत मेला महोत्सवका माध्यमबाट चिनाउने काम भएको र त्यसमा अर्को एक इट्टा थप्ने प्रयास स्वरुप सडक खाना महोत्सवको आयोजना गरिएको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । उहाँले यो सडक महोत्सवलाई सफल पार्न विभिन्न संघ संस्था तथा नगरबासीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले आधुनिक जीवनशैलीका कारण परम्परागत खाना तथा अर्गानिक उपजहरु ओझेलमा पर्ने अवस्था रहेको भन्दै त्यस्ता जीवनशैली र खानाको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको उल्लेख गर्नुभयो । महोत्सवको पहिलो दिनमा विभिन्न विद्यालय तथा समूहहरुले आफ्ना नृत्य राखेका थिए भने चर्चित गायक श्याम राना, जगत गौडेल, तारा पौडेल, बत्तिकुमारी थापा, सम  बस्यालका प्रस्तुति दर्शकहरुलाई निकै रमाइलो गराएको थियो ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक सदभाव र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका छन् ।
यसैगरी भोलि १८ गते राष्ट्रिय कलाकारहरु राजु गुरुङ, सुनिता नेपाली, रविना गुरुङ तथा राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी विभिन्न विद्यालयहरु र स्थानीय व्याण्डहरुको प्रस्तुतिहरु पनि रहने छन् ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर