pokhara news

प्रयोग गरिएको सेनिटरी प्याड व्यवस्थापनका लागि मेसिन वितरण

साउन—२३,पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले विद्यालयहरुलाई प्रयोग गरिएका सेनिटरी प्याड व्यवस्थापनका लागि मेसिन वितरण गरेको छ । नगरपालिकाले मङ्गलबार नगर भित्रका माध्यमिक विद्यालयलाई सेनेटरी प्याडसहित मेसिन र आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो । नगरपालिका भित्रका १८ वटा विद्यालयलाई मेसिनसहित सेनेटरी प्याड र अन्य ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण गरिएको छ । नगरपालिकाले २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरेको हो । नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना विद्यार्थीहरुलाई पुग्ने सेनिटरी प्याड वितरण गरेको छ । 
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस भनेर सेनिटरी प्याड वितरण गरिएकाले सबै विद्यार्थीलाई आवश्यकतानुसार समान रुपमा प्रदान गर्न आग्रह गर्नुभयो । विगतका वर्षमा वितरण गर्दै आएको र उक्त वितरण गरेको सेनिटरी प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत वितरण गरेको उप प्रमुख थापाले बताउनुभयो । उहाँले सेनिटरी प्याड नभई नहुने भए पनि यसको प्रयोग पश्चात सहज  व्यवस्थापनका लागि नष्ट गर्ने मेसिन वितरण गरिएको स्पष्ट पार्नुभयो । सशर्त अनुदान कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १÷१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई पनि प्रदान गरिने रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । 
विद्यालयको आवश्यकता र माग अनुसार यस वर्ष सेनिटरी प्याड नष्ट गर्नका लागि मेसिन वितरण गरेको उहाँले बताउनुभयो । २४ वटा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना छात्राहरुलाई पुग्ने गरी सेनिटरी प्याड वितरण गरिएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर