pokhara news

फस्टाउँदो ड्रागन खेति, व्यक्ति एक उत्पादन अनेक

साउन—२७, स्याङ्जा ।
वैदेशिक रोजगारीबाट फर्केपछि शहर बजार झर्ने, पेशा व्यवसायलाई महत्व नदिने गरेका देख्दछौं । तर स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ४ थुम्काका सेरबहादुर थापा (शिव) भने आफ्नै जन्मथलोमा कृषि उद्यम विकासमा सक्रीय हुनुहुन्छ । 
शिव ३ वर्ष कतार, ७ वर्ष मलेशिया र १० वर्ष कोरियामा काम गरेर फर्कनुभएको हो । विदेशको कमाईले शहर बजारमा घरघडेरी र मधेशमा जग्गा जोडेपनि उहाँ भने गाउँमै “शिव कृषि तथा पशुपंछी फार्म ड्रागन फ्रुट बगैंचा” मा व्यस्त हुनुहुन्छ । एक छोरा र एक छोरी स्नातक पढ्दैछन् । श्रीमती रेवतीकोसाथमा ४६ वर्षीय शिवको दैनिकी आफ्नै सुन्दर बगैँचा र माटोसँग रमाइरहेको छ ।
कोरिया रहँदा विदाको समय कृषि फर्म अवलोकनमा जाने गरेको र घरमा गएर के गर्न सक्छु भनी चिन्तन गरिरहने गर्नुहुन्थ्यो ।
शिवको मुख्य खेती सिउँडी फल (ड्रागन फ्रुट) हो भने साथमा घुसुवा वाली लगाएर आफ्नो पूरै समय नगदमा परिणत गर्नुभएको छ । अहिले शिवको ड्रागन फ्रुट फस्टाइरहेको छ । सिउडी फल एकपटक लगाएपछि २५ वर्षसम्म उत्पादन लिइरहन सकिन्छ भने बजारको माग पनि राम्रो छ । अहिले उत्पादन कम भएकाले उपभोक्ताले मूल्य धेरै तिरेर खानुपरेको छ । आगामी वर्षदेखि सम्भवतः स्याउको मूल्यमा पाइन्छ । यसले गर्दा सर्वसाधारण सबैले सहजै उपभोग गर्न सक्छन् ।  डेढ सय रुपैयाँ प्रति किलो विक्रि गर्दापनि किसानलाई राम्रै फाइदा हुने शिव बताउनुहुन्छ ।
यसकोसाथमा उहाँको बगैंचामा साग, बोडी, सिमी, फर्सीलगायतका घुसुवा बाली लगाएर थप आम्दानी भैरहेको छ । यसरी शिवको कर्मले व्यक्ति एक उत्पादन अनेक देखाएको छ । 
शिव भन्नुहुन्छ,“विदेश जानुभन्दा पहिला पनि तरकारी खेति गर्ने अनुभव थियो । फर्केपछि पनि यही कर्म राम्रो लागेर गर्न थालेको हो । माटोमा गरेको मेहनत कहिल्यै घाटा हुदैन भन्ने विश्वास छ ।” 
उहाँले वालिङ नगरपालिकाबाट ड्रागन खेतिका लागि ३ लाख अनुदान पनि पाइसक्नुभएको छ । अनुदानको रकमले तारबार एवम् थप पिलर बनाउने काम गरेको शिवले बताउनुभयो । यो अनुदानले काममा प्रोत्साहन मिलेको उहाँको भनाई छ । योसँगै अहिलेसम्म शिवको १२ लाख लगानी भएको छ । अहिले करिव ३ सय बोटले फल दिन थालेका छन् । अर्को वर्षका लागि अरु ७ सय बोट फल दिने तयारीमा छन् । सुरुमा काभ्रेपलाञ्चोकबाट ल्याएर लगाउनु भएका शिवले अहिले बिरुवा पनि उत्पादन गर्न थाल्नुभएको छ । फलकोसाथमा बिरुवा पनि बिक्रि भैरहेको छ भने यो वर्ष लगानी उठाउने उहाँको विश्वास छ । ड्रागन फ्रुटबाट गतवर्ष जम्मा ७५ हजारको आम्दानी भएको थियो । अहिले २ क्वीण्टल विक्रि भैसकेको छ । फलेको आधारमा अरु ७ क्वीण्टल उत्पादन हुने अनुमान छ । यसरी ड्रागन फ्रुटबाट मात्रै यो वर्ष ४ लाख आम्दानी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यो पाखोबारीमा कोदो त हुँदैनथ्यो, मकै पनि बाँदरले खाइदिन्थ्यो, जोगाउन सकियो भने पनि एक दुईखालजति उत्पादन हुन्थ्यो । ड्रागन फ्रुटबाट यति राम्रो आम्दानी भएकोमा खुसी छु, उहाँले भन्नुभयो ।
यतिबेला बारीको कान्लाभरी फर्सीका झाल छन् भने यसको मुन्टा पनि विक्रि भैरहेको छ । साग र फर्सीको मुन्टा लिन घरमै ग्राहक आउछन्, विक्रीको कुनै समस्या छैन । अब फेरि काउली र साग लगाउँदै छु भने तारबारमा करेलीका झाल लहरिएका छन् । यसकासाथै मौसमी तथा वेमौसमी बोडीलगायतका लहरेवाली पनि फलाउने गरेको शिव बताउनुहुन्छ । काम गर्ने जाँगर र सोंच हुने हो भने एउटा बालीभित्र अनेक खेतिलगाएर डवल उत्पादन लिनसकिन्छ भन्ने शिवको काम गराई र बगैंचामा देख्न सकिन्छ ।
यसको साथमा शिवले आलमोन ( हाडे बदाम ) का १ सय १० बिरुवा लगाउनु भएको छ । वन्यजन्तुले नखाने र बजार मूल्य पनि राम्रो भएको आलमोन पनि हाम्रो माटोमा राम्रो उत्पादन लिन सकिने भएकाले सुरु गरेको शिव बताउनुहुन्छ । अर्को वर्षदेखि आलमोनले पनि फलदिनेगरी हुर्किरहेको छ । आरु प्रजातिको यो हाडे बदाम प्रति किलो रु. १ हजारमा सजिलै बिक्रि हुने भएकाले बजारको समस्या हुदैन । वन्यजन्तुबाट जोगिदैन भनेर खालीबस्नुभन्दा वैकल्पिक खेतिको खोजी गरेर उत्पादनमा जोडिदा राम्रो हुन्छ । विदेशको अनुभव पनि गरियो, देखियो, हामी नगरेर पछि परेका हौं, गर्ने हो भने हाम्रै माटोले समृद्ध बनाउने शिवको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर