pokhara news

बिरुवामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मङ्सिर १९, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ । गाउँपालिकाको वडा नम्वर ८ मा रहेको मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा आज बुधबारदेखि छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रसतयोगिता–२०८१ सुरु गरिएको हो ।
यहि मंसिर २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्थानीय खेलकुद विकास समितिको आयोजनामा भएको हो । स्थानीय भुरुङ चौकी माध्यमिक विद्यालयले प्रतियोगिताको संयोजन गरेको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित सुरु गरिएको प्रतियोगिताको उद्घाटन गर्दै संघीय सांसद राजु थापाले नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि कूल बजेटको २५ प्रतिशत छुट्याउनु पर्ने बताउनुभयो । गत आर्थिक वर्षसम्म शिक्षा र खेलकुदका लागि अत्यन्त न्युन बजेट छुट्इएको उल्लेख गर्दै संघीय सांसद थापाले त्यसले खास उपलव्धी नहुने भएकाले अब २५ प्रतिशत छुट्याउन संसदमा आवाज उठाएको बताउनुभयो । सांसद थापाले भन्नुभयो, “हामीले कूल बजेटको २५ प्रतिशत शिक्षा र खेलकुदलाई विनियोजन गर्न सक्यौं भने सामुदायिक विद्यालयको शैक्षिक विकास र खेल क्षेत्रलाई माथि उठाउन सक्छौं । यसका लागि म आँफूलगायत विभिन्न दलका माननीयज्यूहरुले संसदमा पटक पटक आवाज उठाएका छौं ।” सरकारका आफ्ना लिमिटेशन छन, बजेटको बाध्यता छ, त्यसैले सबै कुराहरुले गर्दा हामीले सोचेका छौं त्यो आधारमा सम्वोधन गर्न नसकेको कुरा यहाँहरुको बीचमा स्वीकार गर्दछु, सांसाद थापाले भन्नुभयो । तर गएको वर्षमा भन्दा यो वर्ष वृद्धि भएर आएको छ र आगामी वर्ष अरु वृद्धि गर्नका लागि संसदमा उठान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी पूर्वाधार विकासका सन्दर्भ जोड्दै सांसद थापाले सिद्धार्थ राजमार्गको स्तारोन्नतिसँगै सुरुङमार्गका विषयलाई महत्वकासाथ उठान गरिरहेकोसमेत बताउनुभयो । योसँगै ज्याग्दीखोला करिडोरसहित समग्र बिरुवा गाउँपालिकाका यातायातलाई व्यवस्थित गर्न थप बजेटका लागि पहल भैरहेको उल्लेख गर्नुभयो । पछिल्लो समय ठूला र पुराना दलले केहि गरेनन, देशमा केहि हुन सकेन भन्ने भाष्य छरिएको छ, यसमा तीसवर्षको पञ्चायती व्यवस्था र अहिलेको अवस्थालाई हेर्न र बुझ्न आग्रह गर्नुभयो । बहुदल आएपछिको ३४ वर्षमा धेरै कामहरु भएको दावी गर्दै सांसद थापाले युवा पंक्तिलाई त्यस्ता गलत र भ्रामक कुराको पछि नलाग्न र तथ्यको आधारमा बुझ्न आग्रह गर्नुभयो । 
प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका विद्यालयको सहभागिता रहेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु. ३०, २०, १५ र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेल हुनेछन् । बिभिन्न खेलमा प्राप्त अङ्कभारको आधारमा प्रतियोगीहरुको मूल्याङ्कन हुने छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर