pokhara news

बिरुवामा माछाका भुरा वितरण

वैशाख १६, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाले किसानहरुलाई अनुदानमा माछाका भुरा वितरण गरेको हो । विभिन्न किसानहरुलाई गरी गाउँपालिकाले ४२ हजार माछाका भुरा अनुदानमा प्रदान गरेको छ । कमनकार्प र ग्रासकार्प जातका माछाका भुरा प्रदान गरिएको गाउँपालिकाको पशु शाखा प्रमुख डा. देव साहले जानकारी दिनुभयो । मागको आधारमा किसानहरुको छनोट गरी भुरा उपलव्ध गराइएको र यसले किसानहरुमा थप हौसला मिलेको डा. साहको भनाई छ । उहाँले भन्नुभयो, “किसानहरुको व्यवसाय प्रवद्र्धनका लागि कार्यालयद्वारा पूर्ण अनुदानमा माछाका भुरा उपलव्ध गराइएको हो । किसानहरुमा उत्साह र हौसला गपिएको हामीले पाएका छौं ।”
पशुसेवा विज्ञकेन्द्र स्याङ्जाबाट प्राप्त माछाका भुरा वितरण गरिएको हो । यो आर्थिक वर्षको कार्यक्रम अनुसार २२ हजार रुपैयाँ बराबरको करिव ४२ हजार भुरा अनुदानमा प्रदान गरिएको डा. साहले जानकारी दिनुभयो ।
विभिन्न वडाका गरी १४ जना माछापालक किसानहरुले यो आर्थिक वर्ष अनुदानमा भुरा पाएका हुन् । जसमा वडा नम्बर ४ का मात्र ९ जना रहेका छन् । यसैगरी वडा नम्बर ६ का ४ जना र ८ का १ जना छन् । १ देखि १० हजारसम्म भुरा किसानहरुले प्राप्त गरेका छन् । सबैभन्दा बढी ६ नम्वर वडाका इन्द्रबहादुर हमालले मात्र १० हजार भुरा प्राप्त गर्नुभएको छ । यसैगरी ८ नम्वर वडाका रिमबहादुर थापा र ४ का खुमबहादुर हमालले ७÷७ हजार प्राप्त गरेका छन् । यस्तैगरी ६ नम्वरका रिमबहादुर थापाले ३ हजार पाउँदा ४ का इन्द्रकुमारी भुजेल, अम्वर गुरुङ, ६ का टेकराज लम्साल र देवनाथ पाध्य तथा ४ का रामबहादुर रानाले जनही २÷२ हजार भुरा प्राप्त गरेका छन् । जनही एक÷एक हजार पाउनेहरुमा ४ नम्वर वडाका प्रेमबहादुर भुजेल, निरज गुरुङ, लक्ष्मी बसेल, लिलबहादुर गुरुङ र पुतली गुरुङ रहेका छन् ।
माछाका भुरा प्राप्त गरेसँगै किसानहरुले खुसी व्यक्त गरेका छन् । वडा नम्वर ६ गैह्रीका युवराज हमालले पहिला पाइदैनथ्यो, गतवर्षदेखि यसरी भुरा प्राप्त गर्न थालेको बताउनुभयो । योसँगै व्यवसायमा थप हौसला मिलेको र राहतको महसुस गराएको हमालको भनाई छ । 
यसैगरी ७ हजार भुरा पाएका वडा नम्वर ४ का अम्वोट कृषि फर्म सञ्चालक खुमबहादुर हमालले भुरा लिन पोखरासम्म जानुपर्ने समस्या गाउँपालिकाले त्यो पनि अनुदानमा उपलव्ध गराएर राम्रो गरेको बताउनुभयो ।
डा. साहका अनुसार यो आर्थिक वर्ष बाख्राका खोर निर्माण र पाठापाठी वितरण गर्ने कार्यक्रमसमेत रहेको छ । खोर मर्मत गर्नुपर्नेलाई मर्मत गरिदिने, सुधार गर्नुपर्नेलाई सुधार गरिदिने र नयाँ बनाउनुपर्नेलाई खोर अनुदानमा निर्माण गरिने छ । खोर निर्माणमा ८५ प्रतिशत र पाठापाठीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । जहाँ बाख्रापालक किसान छन् त्यहाँ बाख्रा पकेट क्षेत्रको विकास गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । यस अन्तर्गत वडा नम्वर ६ र ७ का किसानहरु रहेका छन् । जसमा बाख्रा पकेट कार्यक्रम अन्तर्गत यो आर्थिक वर्ष ९ जना कृषकहरु लाभान्वित हुदैछन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर