pokhara news

बिरुवामा स्मारिका तथा वंशावली विमोचन, वडाको वंशावली तयार पार्नु एक उदाहरणीय काम भएको—संघीय सांसद थापा

भदौ २०, स्याङ्जा ।
स्याङ्जाको बिरुवामा स्मारिका तथा वंशावली विमोचन गरिएको छ । बिरुवा गाउँपालिकाको वडा नम्वर २ ले वडाको स्मारिका तथा वंशावली सङ्ग्रह पुस्तक बुधबार विमोचन गराएको हो ।
पुस्तक विमोचन गर्दै संघीय सांसद राजु थापाले बिरुवा गाउँपालिकाको २ नम्वर वडाले वडाबासीको वंशावली सङ्ग्रह पुस्तक प्रकाशन गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
वडा र आफ्ना् गाउँको अभिलेखिकरण भनेको अत्यन्त महत्वपूर्ण कुरा भएको संघीय सांसद थापाको भनाई छ । उहाँले भन्नुभयो, “आफ्नो जातीय वंशावलीदेखि लिएर यो अभिलेख तयार गर्न त्यति सजिलो छैन, पूर्व जनप्रतिनिधिहरुले गरेको काम र वडाबासीको वंशावली तयार गर्नुृ भनेको चानेचुने काम होइन । त्यस कारण वडाबासीको वंशावलीको यो अभिलेख इतिहासको रुपमा रहने छ र भोलिका पुस्ताले आफ्नो वडा भित्रको  जानकारी लिन जुन अधिकार पाउनुपर्ने हो, त्यो अधिकार यो पुस्तकले दिनेछ भन्ने आँफूलाई विश्वास लागेको छ ।” 
यसरी बिरुवा गाउँपालिकाको २ नम्वर वडाले एक उदाहरणीय काम गरेको उहाँको उल्लेख गर्नुभयो । अरु वडाले पनि यसैगरी अधिलेख राख्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । जुन पुस्तकमा पञ्चायतकाल देखिका अग्रज नेतृत्वका कुराहरुलाई समेटिएको छ । राष्ट्रले समग्र देशको अभिलेख राखेको हुन्छ भने यसरी वडामा रहेका विभिन्न जातीय इतिहाससहितको अभिलेखसहितको वंशावली तयार पार्नु भनेको एक सराहनी कार्य हो । भोलिका पुस्ताले यो सराहनीय कामको लागि धन्यवाद दिनेछन् । 
तीजको प्रशंग जोड्दै सांसद थापाले नेपालको संविधान महिलामैत्री रहेको बताउनुभयो । ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । यसलाई अझ बढाउनुपर्छ भनेर आवाजहरु उठ्ने गरेको छ । यो राम्रो कुरा हो, यसका लागि संविधान संशोधन गरेर महिला सहभागिताको प्रतिशत बढाउनपर्छ भनेर हामीहरु लागेका छौं, उहाँले भन्नुभयो । 
यो वंशावली  पुस्तक वडाबासीको लागि निःशुल्क प्रदान गरिने वडा अध्यक्ष नोमबहादुर गुरुङले जानकारी गराउनुभयो । वंशावली निर्माणका लागि २ लाख बजेट विनियोजन गरेर तयार पारेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “५ सय प्रति छापिएको छ, वडाबासीका लागि निःशुल्क उपलव्ध गराउने छौं ।” यो वंशावली पुस्तकले देश तथा विदेशका बिभिन्न ठाउँमा गएकाहरुका लागि पनि आफ्नो कूल वंशको जानकारीकासाथै नागरिकतालगायतका काम गर्नका लागि पनि सहयोगी बन्ने विश्वास छ । यो अभिलेख तयार पार्न ६ महिना लागेको र यसका लागि वडाबासीहरुले आ—आफ्नो वंशावलीको जानकारी दिएर सहयोग गर्नेहरु धन्यवादको पात्र रहेको अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाले तीज विशेष अन्तर्गत महिलाहरुलाई सामुहिक दर खाने र नाचगानसहित रमाइलो गरिएको थियो । वडाका आमा समूहहरुले झाँकिसहित नाचगान प्रस्तुत गरेका थिए ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर