pokhara news

बिरुवा गाउँपालिकाको १७ औं गाउँसभा

असार ६, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले १७ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमसहित १७ औं गाउँसभा अन्तर्गत पहिलो वैठक आज शुक्रबार गाउँ कार्यपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले योजनावद्ध विकास र आर्थिक विकासलाई प्राथमिकताकासाथ नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो । आर्थिक विकास अन्तर्गत उद्योग तथा पर्यटन, कृषि तथा पशुपंक्षी, सहकारी, गरिवी निवारण तथा रोजगारीका क्षेत्र नीति तथा कार्यक्रममा समेटिएको छ । यसैगरी सामाजिक विकासमा शिक्षा, संस्कृति, युवा तथा खेलकुुद लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाई, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक सम्मानलगायत समावेश गरिएको छ ।
योसँगै अध्यक्ष कुँवरले कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन एवम् उद्यमशीलतालगायतका विषय समेटेर आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 
अध्यक्ष कुँवरद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा योजनावद्ध विकासको आवश्यकता, महत्व, र त्यसबाट प्राप्त हुने उपलव्धीको आधारमा योजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट व्यवस्था र कार्यान्वयनको नीति लिइने उल्लेख गरिएको छ । यस्तै गरेर पूर्वाधार विकासमा स्थानीय सडक तथा झोलुङ्गे पुल निर्माण र भवन तथा शहरी विकास, उर्जा, सञ्चारलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु, कृषकलाई बजारको सूचना समयमा उपलव्ध गराउनु, गुणस्तरीय बीउविजन एवम् मलखाद समयमा उपलव्ध गराउनु, युवा जनशक्तिलाई कृषि व्यवसाय प्रति आकर्षित गर्नुलगायतका चुनौतिसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
यसका साथै आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यसैगरी यही असार १० गते आर्थिक वर्ष २०८२÷०८३ को बजेट सम्बन्धी १७ औं गाउँसभाको दोस्रो बैठक बस्ने जानकारीसहित गाउँपालिकाका अध्यक्ष कुँवरले पहिलो वैठक सम्पन्न भएको घोषणा गर्नुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर