pokhara news

भीरकोटमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सम्पन्न, आगामी वर्ष खेलकुद महोत्सव गरिने

पुस—१३, वालिङ ।
स्याङ्जाको भीरकोटमा विद्यालय स्तरीय छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सम्पन्न भएको छ । ९ गतेदेखि सुरु भएको छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ आज पुरस्कार वितरणसहित सम्पन्न गरिएको हो । भीरकोट १ सिसौघारीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले आगामी वर्ष खेलकुद महोत्सव सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । फुटबल, भलिबल, क्रिकेट, टेवुल टेनिस, व्याडमिन्टनलगायत हरेक खेलमा विद्यार्थीहरुको रुचि अनुसार सहभागी गराएर भव्यरुपमा खेलकुद महोत्सव अगाडि लैजाने तयारीमा रहेको अग्रिम जानकारी गराउन चाहन्छु नगर प्रमुख कर्माचार्यले भन्नुभयो । 
छैटौं संस्करणको प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुले विद्यार्थीको १८ वर्षे उमेर हदको नियम पालना नगरेको हुँदा रनिङ शिल्ड नगरपालिकामै राख्न बाध्य भएका छौं । गतवर्ष पनि यस्तै भएको उल्लेख गर्दै नगर प्रमुख कर्माचार्यले यसरी रनिङ शिल्ड विद्यालयलाई दिन नपाउँदा दुःख लागेको बताउनुभयो । अर्कोसाल अहिले जस्तो नियम विपरित काम नगर्न उहाँले विद्यालयहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रथम भएर पनि शिल्ड लैजान नपाउँदा तपाईंहरुको पनि चित्त दुख्ला र हामीलाई पनि चित्त दुख्ला, त्यसैले नियमानुसार विद्यार्थीहरुको सहभागिता गराएर शिल्ड लैजाने काम गर्न मेरो अनुरोध छ ।”
खेल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर व्यक्तित्व विकाससँगै राष्ट्रको लागि पनि फाइदाजनक भएको नगर प्रमुख कर्माचार्यले औंल्याउनुभयो । हाम्रा भाइ बहिनीहरुले खेल क्षेत्रमा लागेर अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेका हामीले सुनिरहेका छौं । त्यसैले विद्यार्थी भाई बहिनीहरुले अनुशासित भएर खेल्दै जानुभयो भने भीरकोटमा मात्र नभएर देश विदेशमा समेत चिनिन र चिनाउन सक्नुहुने छ भन्ने आँफुले विश्वास लिएको नगर प्रमुख कर्माचार्यले व्यक्त गर्नुभयो । 
यसैगरी नगर उपप्रमुख भगवती अर्याल रेग्मीले पढाईसँगै आ आफ्नो रुचि अनुसारका खेलक्षेत्रमा लागेर व्यक्तित्व विकासमा लाग्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रतियोगितामा सहभागी भाईबहिनीहरुले कुशलतापूर्वक खेल प्रदर्शन गरेको उल्लेख गर्दै नगर उप प्रमुख अर्यालले यसैगरी आफ्नो क्षमतालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
छैटौं संस्करणको रनिङ शिल्ड प्रतियोगितामा समग्र खेल प्रदर्शनमा प्राप्त अङ्कको आधारमा ६ नम्वर वडाको भाग्योदय माविले प्रथम स्थान हाँसिल गरेर पुरस्कृत भएको छ । यसैगरी ३ नम्वर वडाको सहीद शुक्र मावि दोस्रो र २ नम्वर वडाको दहाथुम माविले तेस्रो स्थान हाँसिल गरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुले नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी विभिन्न विधाका खेलमा प्रथम द्वितीय र तृतीय हुनेहरुलाई पनि नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, कपर्दी, ज्याव्लिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ठेलो फाल्ने, दौडलगायतका खेलहरु भएका थिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर