pokhara news

भीरकोटमा लायन्स क्लबद्वारा राहत सामाग्री वितरण

असार ३०, स्याङ्जा
मनसुनजन्य विपद्का कारण अप्ठ्यारोमा परेका एवम् धनजनको क्षति भएका भीरकोटका नागरिकहरूलाई लायन्स क्लब अफ भीरकोटले राहत वितरण गरेको छ । नगरपालिकाको वडा नं ४, ५ र ९ का बाढी पहिरोबाट पिडित भएका १० परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष ढाकाराम खनालले बताउनुभयो ।
बाढी र पहिरोमा परी परिवारजन गुमाएका परिवारलाई नगद १०  हजार सहित खाद्यान्न, त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको हो । यसैगरी विपद्का कारण घरबास जोखिममा परेर अप्ठ्यारोमा परेका परिवारलाई खाद्यान्न, त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान गरिएको  क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण ) ले जानकारी दिनुभयो ।
मृतक शुरेश श्रेष्ठको छोराछोरीको शिक्षादिक्षाको लागि  परिवारलाई नगद रू १० हजार, खेमकुमारी मल्लको काजकिरिया गर्न नगद रु.१० हजार र राहत सामाग्री प्रदान गरिएको हो । पिडित परिवारको घरमै पुगेर लायन्स क्लबले राहत सामाग्री प्रदान गरेको हो । 
यसैगरी मीना सार्की,श्रीमती सार्की,रिता सार्की, नरबहादुर सार्की, राजेन्द्र गिरी, प्रेम सार्की, चन्द्र बहादुर सिंजाली र नर बहादुर सिंजालीको परिवारलाई राहत सामाग्री वितरण गरिएको क्लबले जानकारी दिएको छ ।
बाढी पहिरोमा परेर धनजन गुमाएका र अप्ठ्यारोमा परेका परिवारजनलाई समानुभूती प्रकट गर्न र मानवीय सहयोग गर्ने हेतुले राहत सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर