pokhara news

भीरकोटमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सुरु

पुस—९, वालिङ ।
स्याङ्जाको भीरकोटमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सुरु भएको छ । आजदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भीरकोट १ सिसौघारीस्थित खेलमैदानमा सुरु गरिएको हो । 
प्रतियोगिताको समुद्घाटन गर्दै नेपाल सरकारका पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भीरकोट नगरपालिका शिक्षामा अगाडि रहेको बताउनुभयो । नेपालमा प्रजातन्त्र आइसकेपछि दहथुम मावि २००९ सालमा र दभुङ ठाँटीमावि २०११ सालमा स्थापना भएर शिक्षाको क्षेत्रमा अगाडि बढेको पालिका हो । योसँगै विद्यालय खुल्ने क्रम बढ्दै आएकाले भीरकोट शिक्षामा निकै सबल रहेको पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । भीरकोटबासी पहिलादेखि नै शिक्षामा अगाडि बढेको इतिहास भएकाले पढाईमा राम्रो ध्यान दिन उहाँले आग्रह गर्नुभयो । अहिलेको माग प्राविधिक शिक्षा हो, त्यसैले विभिन्न ठाउँमा शिक्षालय खुलिरहेका छन् तर विद्यार्थी संख्या थोरै देखिन्छ यो दुःखको करा हो । उहाँले भन्नुभयो, “जीवनोपयोगी शिक्षामा जानुहोला, वालिङ नगरपालिका १३ र पुतलीबजारको त्रिभुवन आदर्श माविले प्राविधिक शिक्षा सञ्चालन गरेका छन् तर पर्याप्त बिद्यार्थी छैनन् किन यस्तो भएको छ म छक्क परेको छु । तीववर्षे कोर्ष पूरा गरेपछि इञ्जिनियर पढ्न पाइन्छ तर पनि विद्यार्थीहरु आकर्षित भएको देखिएन ।” विपीले अव्वल नागरिकको कुरा गर्नुभएको दृष्टान्त व्यक्त गर्दै उहाँले पढाईमा राम्रो गरेर अव्वल नागरिक बन्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । अब तपाईंहरुले सानो मन गर्न पर्दैन आफ्नै गाउँ ठाउँमा पठनपाठन गरेर तपाईंहरु अगाडि बढ्नुस् । आफ्नो भविष्य निर्माणमा लाग्न मेरो आग्रह छ । किनकि अबको भविष्य अबको कर्णधार तपाईहरु हो, उहाँले भन्नुभयो । जहासम्म यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुरा छ यो पनि विद्यार्थीहरुका लागि राम्रो अवसर हो । यो अवसरलाई उपयोग गरेर आफ्नो व्यक्तित्व विकाससँगै राष्ट्रको नाम राख्नेगरी खेलको माध्यमबाट पनि अगाडि बढ्न पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।
यसैगरी नगर प्रमुख गोविन्द कर्माचार्यले खेललाई कसरी भव्य र सभ्यरुपमा सञ्चालन गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहेको बताउनुभयो । अनुशासित भएर खेलेर भोलिको दिनमा यहाँमात्र नभएर जिल्ला र प्रदेशहुँदै देशमा नै भीरकोटको खेलाडी भनेर चिनिनेगरी खेल्न उहाँले आग्रह गर्नुभयो । 
प्रतियोगितामा छात्र छात्रा भलिबल, कपर्दी, ज्याव्लिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ठेलो फाल्ने, दौडलगायतका खेलहरु हुनेछन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर