pokhara news

भेषजराज साहित्य प्रतिष्ठानको ८२ औं शृङ्खला

फागुन ७, वालिङ ।
भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले रचनावाचनको ८२ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो नियमित रचनावाचनको ८२ औं शृङ्खला वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेशका पूर्व सांसद एवम् विधायन समितिका सभापति मोहन रेग्मीले फागुन ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवसलाई विशेष महत्वकासाथ लिनुपर्ने दिन भएको बताउनुभयो ।
उहाँले गङ्गालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द जस्ता सहीदहरुको योगदानले आज हामीेले आजको अवस्थामा आउन सफल भएको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “ गङ्गालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दले प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन तानाशाहका विरुद्द लडेको र ज्यानको आहुति दिएको हुनाले आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुगेका हौं । आजको दिनलाई विशेष महत्वका साथ लिनुपर्छ ।”
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय विदा राखिएको उल्लेख गर्दै गण्डकी प्रदेशका पूर्व सांसद रेग्मीले हरेक संघ संस्था एवम् कार्यालयहरुले सोही अनुसार मनाउनुपर्नेमा जोड दिनुभयो । तत्कालिन समयमा राणा शासनका विरुद्ध नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीको संयुक्त आन्दोलनबाट नै प्रजातन्त्र प्राप्ति भएको हो । २०४६ को आन्दोलन पनि त्यही समयको जग हो उहाँले भन्नुभयो २०६३ को सफलता प्राप्त भयो र मात्र आजको अवस्थामा आएका हौं । राणा शासन र पञ्चायती तानाशाहका विरुद्ध लडेको राजनीतिक इतिहास भएका दलहरुको बलमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्मको सफलता मिलेकाले सबै तह र तप्काबाट राष्ट्रिय पर्वकारुपमा मनाउनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा डा. अच्युतशरण अर्यालको कृति “नेपाली बाल साहित्यको विधापरक इतिहास” को चर्चा परिचर्चा गरिएको थियो । कृतिको चर्चा गर्दै नेपाल प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले नेपालमा पहिलो पटक बाल साहित्यमा शोधपत्र तयार पार्ने डा. अर्यालको कृति सबैले पढ्नैपर्ने पुस्तक भएको व्यक्त गर्नुभयो । नेपाली बाल साहित्यको पृष्ठभूमि, नेपाली बाल साहित्यको अन्वेषण प्रारुप, नेपाली बाल कविता र बाल काव्य विधाको इतिहास एवम् नेपाली बाल आख्यानको इतिहासलगायत विषयवस्तुका सन्दर्भ समेटिएकाले डा. अर्यालको यो कृति अत्यन्त गह्रुङ्गो रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा लेखनाथ काफ्ले, कमल बगाले, ढालबहादुर केसी, शम्भु अर्याल, ध्रुव शर्मा पङ्गेनी, श्यामप्रसाद ढुङ्गाना, दमकला बगालेलगायतले आ—आफ्ना रचनावाचन गरेका थिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर