pokhara news

मनसुन पुनः सक्रीय हुने सम्भावना, सतर्कताका लागि मौसम पूर्वानुमान महशाखाको आग्रह

असार २७, स्याङ्जा
मौसम पुनः सक्रीय हुने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गए रातिदेखि असार २९ गतेसम्म देशका अधिकांश क्षेत्रमा मनसुन सक्रीय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि महाशाखाले आग्रह गरेको हो ।
हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग÷सिमाना आसपास) रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएरातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ । आज बिहिबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले बुधबार रातिदेखि २९ गतेसम्म नेपालमा मनसुन सक्रीय हुने सम्भावना देखिएको छ । बुधबार मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि महाशाखाले अनुरोध गरेको हो ।

२९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर