pokhara news

माघमा नवौं वालिङ महोत्सव हुने

गोपाल जिटी
वालिङ, १४ पुस ।
आउँदो माघ महिनामा नवौं वालिङ महोत्सव हुने भएको छ । आजको ठीक १ महिनापछि माघको १४ देखि २५ गतेसम्म “नवौं वालिङ महोत्सव–२०८२” सञ्चालन गरिने आयोजक वालिङ उद्योग वाणिज्य सँघले आज पत्रकार सम्मेलन मार्फत औपचारिक जानकारी दिएको हो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नारासहित २०६३ सालदेखि सुरु गरेको वाणिज्य सँघले नवौं संस्करणको महोत्सव गर्ने भएको हो । यस वर्ष विगतका वर्ष भन्दा अझ परिस्कृत र प्रभावकारीरुपमा “गण्डकी प्रदेश स्तरीय प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाकोरुपमा नवौं वालिङ महोत्सव–२०८२” को आयोजना गर्न लागिएको सँघले जनाएको छ ।

कार्यक्रममा महोत्सवका निर्देशक तथा वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शोभाकान्त पौडेलले वालिङ राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सोही अनुसार यसपटकको महोत्सव अझ भव्य र सभ्य रहनेमा आँफू विश्वस्त रहेको उहाँको भनाई छ । नवौं वालिङ महोत्सव विगतका भन्दा अझ परिस्कृत र पारदर्शी बनाउने गरी तयारीमा लागिएको महोत्सवका निर्देशक पौडेलले बताउनुभयो । विगतका दिनमा सञ्चार माध्यमले खेलेको भूमिका र मार्गदर्शनको स्मरण गर्दै निर्देशक पौडेलले नवौं संस्करणको महोत्सव सफल पार्नका लागि पत्रकारहरुबाट आएको सहयोगको प्रतिवद्धताले आफूहरुलाई थप उत्साही बनाएको उहाँले व्यक्त गर्नुभयो । 

यसैगरी संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले वालिङ महोत्सव हामी सबैको साझा कार्यक्रम रहेकाले सफल पार्ने जिम्मेवारी पनि हामी सबैमा निहित रहेको बताउनुभयो । मौलिक कला र संस्कृति प्रवद्र्धनकासाथै व्यवसायी र स्थानीय उत्पादनको प्रवद्र्धनसँगै आर्थिक चलायमानमा महोत्सवको महोत्सवको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ । स्थानीय व्यवसायीहरुका लागि स्टलभाडा सहुलियतमा दिइने र कृषि प्रदर्शनीका लागि निःशुल्क स्टल उपलव्ध गराइने जानकारी दिनुभयो । नवौं संस्करणको महोत्सवलाई सफल पार्न पत्रकारलगायत सम्पूर्ण सरोकारवाला महानुभावहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।
व्यवसायिक चेतना अभिवृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्ने, उत्पादक र उपभोक्ताहरु बीचको सम्बन्ध अभिवृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने, सूचना प्रविधिको प्रवद्र्धन गर्ने र समग्रमा यस क्षेत्रको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेलगायत महोत्सवको  उद्देश्य रहेको छ ।
यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्रकोरुपमा सम्वद्र्धन, प्रवद्र्धन र विकासमा सेचतना जगाउने महोत्सवको लक्ष्य रहेको छ । यसैगरी औद्योगिक उत्पादन, स्थानीय घरेलु कुटिर तथा कृषि, वनजन्य उत्पादनको बजार प्रवद्र्धन, गुणस्तरीय उत्पादन बढाउनुका साथै स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनेलगायतका लक्ष्यसहित नवौं संस्करणको महोत्सव सञ्चालन गरिने छ ।
महोत्सवमा १० करोड भन्दा बढीको कारोवार गर्ने र ३ लाख भन्दा बढी दर्शक, व्यवसायी तथा लगानीकर्ता भित्र्याउने आयोजकको अल्पकालिन लक्ष्य छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति, कृषि मेला तथा पशुपंछि प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, पशुपंछि सम्बन्धी उन्नत जात तथा प्रविधिको प्रदर्शनी, अगुवा कृषक तथा कृषि विशेषज्ञबीच अन्तरक्रिया, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, खेलकुद, बाल उद्यान, अटोमोवाइल्स, पर्यटन मेला, हस्तकला प्रदर्शनी, व्यापारिक स्टल, फ्रि वाइफाई, सुरक्षा व्यवस्था र बीमाको व्यवस्था गरिने छ ।
महोत्सवमा साधारण टिकट रु.१ सय र विद्यार्थीका लागि रु.७० लाग्ने छ । साँझ लाइभ कन्सर्ट हुनेछ भने यो समयका लागि टीकट रु.२ सय ५० लाग्ने छ । यसैगरी सँघका सदस्य, तिनका परिवार तथा सर्वसाधारणका लागि रु.५ सयमा स्थायी पासको व्यवस्था गरिने छ । सँघमा नविकरण भएका व्यवसायीहरुका लागि भने निःशुल्क पास उपलव्ध गराइने आयोजकले जनाएको छ । महोत्सव वालिङ ८ मा रहेको खेलमैदानमा हुनेछ भने कार्यक्रम दैनिक विहान १० बजेदेखि साँझसम्म हुनेछ । महोत्सवको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ र वालिङ नगरपालिका रहेको छ । यसैगरी मुख्य सहयोगीमा गण्डकी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासँघ गण्डकी प्रदेश, नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कोष र जिल्ला समन्वय समिति स्याङ्जा रहेको छ । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
महोत्सवमा कूल १ करोड ६८ लाख आम्दानी हुँदा १ करोड १४ लाख ५१ हजार खर्च हुने र रु. ५३ लाख ४९ हजार बचत गर्ने आयोजकको अनुमान रहेको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर