pokhara news

मौलिक खाना प्रवद्र्धनका लागि वालिङमा सडक महोत्सव

वालिङ, १७ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिकाले आजदेखि सडक महोत्सव गर्दै छ । स्थानीय उत्पादन र खाना प्रवद्र्धनका लागि नगरपालिकाले आज १७ देखि १९ गतेसम्म तीनदिने प्रथम वालिङ सडक खाना महोत्सव–२०८२ आयोजना गरेको हो । “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धिमा हाम्रो चाहना” भन्ने मूल नारासहित पालिकाद्वारा आयोजना गरिएको यो जिल्लाकै पहिलो कार्यक्रम हो ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सद्भाव र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् ।
मौलिक खानाको स्वादसंँगै जातीय संस्कार र संस्कृति एकै ठाउँमा हेर्न पाइने
महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षत्रिलगायतका जातजातिहरुको मौलिक परिकारको प्रदर्शनी तथा बिक्रि, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातीय रीतिरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ । आँधीखोले सभ्यता, स्थानीय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुख्र्यौली परिकारदेखि आधुनिक परिकारसम्मको स्वाद लिन पाईनेछ ।
कृषि स्टल निशुल्क 
महोत्सवमा स्थानीय कृषिलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । यहाँका स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बिउविजन तथा कृषि प्रविधि एवम् नवीन उद्यमहरुको प्रदर्शनी हुनेछन् । साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिदेखि नगरभित्रका प्रतिभाहरुका प्रस्तुति रहने छन् ।
मौलिक खानाको प्रवद्र्धनसंँगै पर्यटन भित्र्याउने अपेक्षा
स्थानीय तथा मौलिक खानाको प्रर्वद्धन गर्दै पर्यटन आवागमनको विकासका लागि प्रथम सडक महोत्सव आयोजना गरिएको नगर प्रमुख कृष्ण खांँणको भनाई छ । 
महोत्सवले स्थानीय होटलहरुको प्रवद्र्धन गर्दै मौलिक खानालाई बजारसम्म ल्याउन सहयोग गर्ने महोत्सव व्यवस्थापक एवम् नगरप्रवक्ता पदमराज गुरुङको भनाई छ । उहाँका अनुसार स्थानीय कलाकार र स्थानीय परिकार तथा उत्पादनलाई महोत्सवमा विशेष प्राथमिकता दिइने छ ।
वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म विभिन्न खानाका स्टलहरु रहनेछन् भने महोत्सवलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालगायत सम्पूर्ण कार्य व्यवस्थित पारिएको छ । महोत्सव दिउँसो १ बजेदेखि सुरु हुनेछ । महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृष्यहरुपनि अवलोकन गर्न पाइनेछ । 
६ लाख ५० हजारमा महोत्सव सम्पन्न गरिने
महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको छ । जसमा स्टल भाडाबाट ५० हजार आम्दानी गर्दै नगरपालिकाले ६ लाख ५० हजारमा महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै कलाकारको लागि २ लाख छुट्याएको छ भने साउण्ड सिष्टम १ लाख, स्टल निर्माण २ लाख २५ हजार, अतिथि सत्कारमा २० हजार, प्रचारप्रसारमा ५० हजार, मायाको चिनो ५० हजार र विविधमा ५ हजार गर्दै ६ लाख ५० हजार खर्च गर्ने योजना बनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर