pokhara news

राङ्खोला—धोवादी सडकमा केहीदिनका लागि आवागमन रोकिने

चैत्र ५, वालिङ ।
स्याङ्जाको राङ्खोलादेखि धोवादी हुँदै बिरुवा गाउँपालिका जाने सडकखण्ड स्तरोन्नतिसँगै पक्की गराउने काम भैरहेको छ । राङ्खोला—धोवादी ६ किलोमिटर सडकमा स्तरोन्नतिसहित पक्कीको काम भैरहेको हो । सडकको पीच गर्नका लागि आधारभूत कार्य पूरा भैसकेकाले यही चैत्र ७ देखि ३० गतेसम्म आवागमन बन्द गरिने भएको हो । पीचको काममा बाधा पुग्ने भएकाले बिरुवादेखि जिल्ला सदरमुकाम पुतलीबजार सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न ठेकेदार कम्पनीको अनुरोधमा प्रमुख जिल्ला अधिकारी, पत्रकार एवम् सरोकारवालाहरुको उपस्थितिमा जानकारीसहितको सरसल्लाहमा आवागमन रोकिने भएको हो । पीच गरिने क्षेत्रभित्र अति आवश्यक पर्ने एम्वुलेन्स भने रोकिने छैन ।
निर्धारित समयसम्मका लागि विभिन्न ४ वटा वैकल्पिक सडकबाट आवागमन गर्न गराउन अनुरोध गरिएको छ । बिरुवा—ओरष्टे—ज्यामिरे हुँदै सदरमुकाम घुम्ती बस र जीपका लागि तोकिएको छ । यसैगरी बिरुवा—धोवादी—राङभाङ—ज्यामिरेहुँदै घुम्ती जीप सञ्चालन गर्न भनिएको छ । धोवादी—खाली—खाङराङ—ज्यामिरे घुम्तीसम्म आवतजावतका लागि पनि जीपमात्र सञ्चालन गर्न सकिने छ । यस्तैगरी जीप सञ्चालनका लागि बिरुवा—बेलघारी—गुमार्दी—पेल्काचौरहँुदै जाडखोलाको यात्रा तय गरिएको छ । जिल्ला प्रशासन एवम् जिम्मेवार व्यक्तिहरुको सल्लाह र निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि निर्धारित रुटहरुबाट तोकिए वमोजिमका सवारी साधन सञ्चालन गरेर सवारी धनिहरुले सेवा दिन बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले अनुरोध गर्नुभएको छ ।
राङ्खोला—धोवादी ६ किलोमिटर सडकमा स्तरोन्नतिसहित पीच गर्नका लागि ठेकेदार कम्पनी गणेशकुण्ड इन्द्रायणी रक्तकन्या जेभी काठमाडौंले २०८० भदौ १२ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार कम्पनीले २०८२ साउन २८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ । तर करिव ५ महिना अगावै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीका ज्ञानराज घिमिरेले बताउनुभएको छ । मौसमले साथ दिएको खण्डमा निधारित समयभन्दा अगावै पीचको काम सकिने ठेकेदार घिमिरेको भनाई छ ।
राङ्खोला—धोवादी सडक निर्माणसम्बन्धी जानकारीसहितको छलफल कार्यक्रम पूर्वाधार विकास कार्यालय स्याङ्जाको आयोजनामा गरिएको हो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर