pokhara news

रामपुरमा परिचयपत्र र सहायता सामग्री वितरण

रामपुर,१८ मङ्सिर ।
पाल्पाको रामपुर नगरपालिकाले बुधबार परिचयपत्र र सहायता सामग्री वितरण गरेको छ । नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतीको सम्वद्र्धन” भन्ने राष्ट्रिय नाराका साथ नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको थियो । 
सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुको सहजता र राहतका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा सास्ती संँगै समस्या झेल्नु परेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता पुग्ने कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा अधिकारको पूर्ण प्रत्याभूति हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । फरक क्षमता भएका व्यक्तिहरुलाई समाज र राष्ट्र सबैले सम्मानजनक व्यवहार गर्न आवश्यक रहेको नगर प्रमुख थापाको भनाई थियो । शारीरिक रुपले अशक्त भए पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नगर प्रमुख थापाले सरल जीवनयापनका लागि नगरपालिकाले आर्थिक र भौतिक दुवै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“म अपाङ्ग छु भनेर आफूलाई कमजोर नसोच्नुस उच्च मनोबलका साथ अगाडि बढ्नुस नगरपालिका संधै तपाईहरुको साथमा छ र तपाईहरुलाई सहयोग गर्छौँ ।” उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरेको र उक्त भवनबाट फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारी संँगै निःशुल्क आवासको व्यवस्था गरेको जानकारी गराउनुभयो । साथै अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्ने पेशा व्यवसायमा नगरपालिकाले कर छुट दिंदै आएको छ । 
यस्तै  रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको सरल जीवनयापन र राहतका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुको हक अधिकारका लागि विभिन्न सुविधा सहित जीवन उपयोगी सीप तथा तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । 
कार्यक्रमका अवसरमा श्रवण शक्ति कमजोर भएका १ जनालाई श्रवण सहायता सामग्री र ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । जसमध्ये एउटा रातो, २ वटा निलो र ३ वटा पहेँलो अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर