pokhara news

रामपुरमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई

मंसिर १४, पाल्पा ।
पाल्पाको रामपुरमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक प्रगति समिक्षासहितको सार्वजनिक सुनुवाई शुक्रबार गरेको हो । 
सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेकाले निर्माणकार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो । निर्माण सम्पन्न भएका पूर्वाधारको मर्मत सम्भारमा नगरपालिकासंँगै स्थानीयको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले समय मै योजना निर्माणका लागि स्थानीयकोसंँगै गुणस्तरको लागि सबैले निगरानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कृषक तथा व्यवसायीहरुको प्रोत्साहनका लागि नगरपालिकाले पहल गर्दै आएको जानकारी गराउनुभयो । सबैको सहभागिता र सुझावबाट मात्रै विकासले गतिलिने नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । नगरको विकासमा जनताको सुझाव अपरिहार्य रहेको भन्दै उहाँले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो । 
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ११ करोड ६६ लाख १७ हजार ३४ रुपैयाँ र पुूँजीगत तर्फ १८ करोड ४८ लाख ३५ हजार विनियोजन भएकोमा ५७ लाख ३४ हजार ६३० खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा हालसम्म नगरपालिकामा भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा सहभागी मध्ये १८ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीले घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, छात्रवृति, धानबालीमा देखिएको समस्या, सार्वजनिक यातायातको भाडादर, निकासी कर, नागरिकतासहित सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवर, कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे लगाएतले सम्बोधन गरेका थिए । 
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका सल्लाहकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सीताकुण्ड मिडिया प्रा.लि.ले सहजीकरणमा भएको हो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर