pokhara news

रामपुरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया

असोज ५,पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीयतह स्तरीय अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार रामपुर नगर भित्रका सरोकारवालाहरु संँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले आयोगमा गलत नियतले उजुरी दिँदा सास्ती मात्र भएको बताउनुभयो । वेनामी गलत नियतको उजुरीले विकास निर्माणका काम प्रभावित भएको भन्दै नगर प्रमुख थापाले उजुरी दिनेहरु माथि पनि छानविन हुनु पर्ने बताउनुभयो । ‘कतिपय अवस्थामा ज्ञान नहुँदा काम भएको छ तर मुद्दा पर्ने अवस्था आएको छ । अहिले अख्तियारको जवाफ दिँदा दिँदा हैरान भएको छ । एक जना कर्मचारी नै व्यवस्थापन गरेर अख्तियारको जवाफ लेख्न लगाउनु पर्ने अवस्था सृजना भएको छ । यदि गलत नियतले उजुरी हालेको छ भने छानविन गर्न आवश्यक छ, उहाँले भन्नुभयो । उहाँले समाजमा आफ्नो काम जसरी पनि प्रलोभनमा पारेर गर्ने, अरुको काममा औला ठड्याउने प्रवृत्ति हावी हुँदैगएको उल्लेख गर्नुभयो । साथै नगर प्रमुख थापाले आँपूmले कुनै गल्ती गरेको छैन भने कसैले उजुरी हाल्दैमा डराउन नपर्नेमा जोड दिनुभयो । 
यस्तै कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले अख्तिायारको बारेमा जानेको ज्ञान अरुलाई पनि सिकाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले न्यायिक समितिले कानुनी सल्लाहकार राख्न नपाउँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गर्नुभयो । 
प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले इन्जिनयरिङ्गको पाटोमा प्रशासनका कर्मचारीलाई थाहा नहुने तर इन्जिनियरले पास गरेको फाईलमा हस्ताक्षर गर्दा पछि प्रशासनका कर्मचारीले पनि मुद्दा खेप्नु पर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत धर्मराज बुढाले आयोगको तर्फ बाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगले आर्थिक वर्ष २०८०÷०८१ म ३६ हजार १ सय ८६ उजुरी परेको मध्ये ८४.७२ प्रतिशत अर्थात २७ हजार ७ सय १४ मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाल्पाका स्थानीय तहहरुमा ३७ वटा उजुरी परेको र पाँच वटाको फर्छ्यौट भैसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, नगरपालिका तथा नगर भित्रका सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर