pokhara news

रामपुरमा विविध प्रतियोगितासहित विद्यार्थी सम्मान

भदौ—२९,पाल्पा ।
पाल्पाको रामपुरमा विविध प्रतियोगितात्मक कार्यक्रमसहित विद्यार्थी सम्मान गरिएको छ ।
रामपुर नगरपालिकाको शिक्षा शाखाले ६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विविध प्रतियोगितात्मक कार्यक्रमसहित विद्यार्थी सम्मान गरेको हो । कार्यक्रममा एसइई परीक्षा २०८० मा ३.६ वा सो भन्दा बढि जिपिए ल्याएर उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । 
दिवसका अवसरमा मावि स्तरीय वादविवाद प्रतियोगिता, आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता,प्रावि तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले हरेक बालबालिका र विद्यार्थीको भविष्य शिक्षक र अविभावकमा निहित हुने बताउनुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्यका लागि घर र विद्यालय दुबैमा बालमैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । हरेक बालबालिका कमजोर र क्षमतावान बनाउनका लागि अविभावकले सिर्जना गर्ने शैक्षिक वातावरण र शिक्षकको सिकाईमा भर पर्ने भएकाले शिक्षा र सिकाईका लागि उचित वातावरण बनाउन उप प्रमुख थापाको आग्रह छ । साथै उपप्रमुख थापाले बालबालिकाको अधिकार र शिक्षालाई सुनिश्चित गर्नका लागि नगर सरकार सधैँ प्रतिवद्ध भएर लागेको भन्दै नगरपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि सबै लाग्न आवश्यक रहेको उहाँको भनाई छ ।
यस्तै सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ बढि प्राथमिकता दिएर सञ्चालन गर्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले हरेक बालबालिका तथा विद्यार्थीलाई निश्चित नतिजाको आधारमा दबाव र सजाय दिन नहुने भन्दै उमेर र समय अनुसार हरेक सिकाइमा सफल हुने बताउनुभयो । ६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका भित्रका सामुदायीक र निजी विद्यालयका ३.६ जिपिए ग्रेड वा सो भन्दा माथी ग्रेड ल्याई एसईइ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको थियो । उनिहरुलाई नगद २ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै दिवसको अवसरमा भएको मावि तह स्तरीय वादविवाद प्रतियोगितामा प्रथम गंगा माध्यमिक विद्यालयका श्रेया आचार्य, द्वितीय जनकल्याण माध्यमिक विद्यालयका स्वरुपराज खनाल, तृतीय भूपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सक्षम बस्ताकोटी र सान्त्वना रामपुर अंग्रेजी माध्यमिक विद्यालयका रुपेश थापा तथा रामतुलसी माध्यमिक विद्यालयका विवशा घिमिरे भएका छन् । यस्तै आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा गेझा सनराईज बोर्डिङ स्कुलका सुरक्षा गौडेल, द्वितीय दरैठाँटी माध्यमिक विद्यालयका कुशल सिग्देल, तृतीय रामतुलसी माध्यमिक विद्यालयका नमुना न्यौपाने र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सुस्मिता खत्री भएका छन् । 
यसैगरी प्राथमिक तह स्तरीय हाजिरिजवाफ प्रतियोगितामा दरैठाँटी माध्यमिक विद्यालय, विजयपुर ,द्वितीय रामतुलसी माध्यमिक विद्यालय वेझाँड, तृतीय गंगा माध्यमिक विद्यालय एक्लेटार र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुल, मटेरी भएको छ । यस्तै कक्षा १ देखि ३ सम्मको चित्रकला प्रतियोगितामा प्रथम बालसिद्ध प्राथमिक विद्यालयका मिलन श्रेष्ठ, द्वितीय दरैठाँटी माध्यमिक विद्यालयका विहानी ढकाल, तृतीय रामपुर आधारभूत माध्यमिक विद्यालयका शुष्मा मोक्तान र तृतीय भूपु सैनिक राइजिङ इङ्गलिस बोर्डिङ स्कुलका रोजित मल्ल भएका छन् । प्रतियोगितमा विजयी विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर