pokhara news

रामपुरमा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण

फागुन ३, पाल्पा
पाल्पाको रामपुरमा सामुदायिक कुकुरहरुको स्थायी वन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुरको व्यवस्थापन र रेविजको जोखिम न्यूनिकरणका लागि शिविर सञ्चालन गरी स्थायी बन्ध्याकरण गरिएको हो । 
रामपुर नगरपालिकाको आयोजना, वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देही र मानव पशु तथा बाली संरक्षणका लागि युवा भरतपुर चितवनको प्राविधिक सहयोगमा तीन दिने शिविर सञ्चालन गरिएको थियो । गत बुधबार देखि शुक्रबारसम्म भएको शिविरमा रामपुर नगर भित्रका विभिन्न टोलहरुमा रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिई एक सय १२ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । 
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा बाटोमा हिड्ने मानिसलाई मात्र नभै पशु चौपाया पनि आक्रमण गरेर त्रसित बनाउने र रेविज लगाएतका घातक रोग सार्न सक्ने जोखिम बढ्दै गएपछि तीन वर्ष देखि स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । नगरपालिकाले बजेट विनियोजन गरी शिविर सञ्चालन गर्दै आएकोसमेत जानकारी गराउनुभयो । 
शिविरमा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सामुदायिक कुकुरको कल्याण र मानव स्वास्थ्यका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो  । संख्या धेरै हुँदा आहारको कमी आउने भएकाले व्यवस्थापन संँगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र  रेविज विरुद्धको भ्याक्सिन शिविर सञ्चालन गरिएको उपप्रमुख थापाले बताउनुभयो । बन्ध्याकरण शिविरले कुकुरको संख्या नियन्त्रण र कुकुरकै कारण हुने अन्य दुर्घटनामासमेत कमि आएको उहाँले उल्लेख गर्नुभयो । 
सामुदायिक कुकुरका कारण रेविज रोगको जोखिम बढेकाले कुकुरको व्यवस्थापन तथा संख्या न्यूनिकरणका लागि बन्ध्याकरण गरिएको रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले बताउनुभयो । कुकुरको संख्या बढ्दै जाँदा आहारको अभावमा थप आक्रामक हुने, मानव स्वास्थ्य र मान्छेमा सर्ने रेविज रोग नियन्त्रण र न्यूनिकरणका लागि एक मात्र विकल्प स्थायी बन्धयाकरण भएको पशुचिकित्सक डा. अविनास क्षत्रीले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर