pokhara news

रामपुरले खुला तीज गीत प्रतियोगिता ग¥यो

भदौ ५, रामपुर
पाल्पाको रामपुर नगरपालिकाले खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।  हरितालिका तीजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत खुला मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेको थियो । 
नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा विभिन्न  संघ संस्था तथा समूह बाट गरी १५ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा रामपुर अंग्रेजी आवाशीय माध्यमिक विद्यालयको अनिसा रानाको समूहले प्रथम स्थान हासिल गरेको छ । 
यसैगरी नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितीय, क्षत्री समाज समूह तृतीय र नव दुर्गा आमा समूह दुर्गा भट्टराईको टीम सान्त्वना भएको थियो । 
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल समूहलाई क्रमश नगद रु.३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, नगरप्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्तरुपमा पुस्कार प्रदान गरेका थिए । 
प्रतियोगीहरुले नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भूमिकासहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषय समेटेका थिए । 
कार्यक्रमको समुद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । उहाँले अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेदमा परेको उल्लेख गर्नुभयो । ‘विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परेपनि वर्तमान संविधान र व्यवस्थाले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ’ उहाँले भन्नुभयो । संघियता कै कारण जनताको घर दैलोमा सिंहदरबार आएको छ ।’ सापकोटाले हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने धारणा राख्नु भएको थियो । यसैगरी उहाँले विश्वमै शालिग्राम पाईने एक मात्र नदी कालीगण्डकीको संरक्षण गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले कालीगण्डकी र शालिग्रामको संरक्षणका लागि डाईभर्सनको विरुद्धमा स्थानीय जनताको साथमा रहेर सदनमा आवाज उठाउँदै आएको र निरन्तर रुपमा लागि रहने प्रतिवद्धता जनाउनुभयो । 
कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहाकार विष्णु देवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।  जनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 
कार्यक्रमको अवसरमा साविक गजरकोट नेवास् समूहको लाखेनाच समेत प्रदर्शन गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर