pokhara news

रामपुर नगरपालिकाका वडा कार्यालयहरुमै व्याङ्किङ सुविधा दिइने

असोज २, पाल्पा
पाल्पाको रामपुर नगरपालिकाका सबै वडाहरुबाट व्याङ्किङ सुविधा दिइने भएको छ । सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरुको सुविधा र योजनाका उपभोक्ता समितिको खाता सञ्चालनका सम्बन्धमा छलफल गरी सबै वडाहरुबाट व्याङ्किङ सुविधा दिइने निर्णय भएको हो ।
नगरपालिका भित्र रहेका ९ वटा बैंक तथा विकास बैंकहरुले नगरवासीको सुविधाका लागि सबै वडामा गएर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिने भएका छन् । यससंँगै नगरपालिकाका सबै वडा कार्यालय मार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोलिने भएको छ । साथै आगामी दिनमा रामपुर नगरपालिका संँगको समन्वयमा घुम्ति सेवा मार्फत नगरबासीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गरिने भएको छ । 
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिका बीच समन्वय गर्न आवश्यक रहेको बताउनु भयो । नगर प्रमुख थापाले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रुपता ल्याउन सबै बैंकहरुलाई आग्रह गर्नु भएको छ । नगरबासीको सुविधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसका लागि सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।
यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरबासीको सुविधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उद्यम र आम्दानीको आधारमा  लगानी गर्न आग्रह समेत गर्नु भएको छ । छलफल साथै अन्य सेवा भन्दा वृद्ध वृद्धा र शारीरिक रुपले फरक क्षमताका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंक मार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । 
नगरपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा बोल्दै कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले जनताको सेवाका लागि नगरपालिकाले अनुरोध गरेको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिएपछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजिकरण गरिदिन आग्रह गर्नुभयो । 
यस्तै सुरक्षा र अन्य आवश्यक व्यवस्थापन भएमा वडा र टोलबाट सेवा प्रवाह गर्न सकिने लक्ष्मी सनराईज वैंक रामपुर शाखाका प्रमुख अमृत खड्काको भनाई छ । 
यसैगरी छलफलमा सहभागी बैंकका शाखा प्रमुखहरुले नगरपालिकाको कार्यालय संँग सम्बन्धित वित्तीय सेवालाई छिटो छरितो सहज र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर