रामपुर नगरपालिकाले पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्दै
साउन १४, रामपुर
पाल्पाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो । नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक, समाजिक, पर्यटन, भूगोल लगाएतका विषयलाई समेटेर “हाम्रो रामपुर“ नामक पाठ्यपुस्तक निर्माण गर्ने भएको हो ।
पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरी सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ । पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिका भित्रका १० वटै वडामा सूचना संकलन कार्यशाला सम्पन्न गरेको छ ।
नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुलाई समग्र रामपुर नगरपालिकाको विषयमा जानकारी गराई पठनपाठनमा एक रुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको बताउनुभयो । विभिन्न देश र स्थानको बारेमा अध्ययन गरे पनि आफ्नै स्थानको बारेमा जान्न नसक्नु दुखद पक्ष रहेको भन्दै नगरपालिकाको विषयमा जानकार गराउन पाठ्यपुस्तक निर्माणको काम शुरु गरिएको थापाले उल्लेख गर्नुभयो । विज्ञ ल्याएर पुस्तक लेख्दा यहाँको स्थानीय विषयवस्तुलाई सही रुपमा उठान गर्न नसक्ने भएकाले यहीँका शिक्षकहरुको सहयोग र सक्रियतामा पुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । “स्थानीय जनतालाई जति थाहा छ, त्यो बाहिरी व्यक्तिलाई थाहा हुँदैन, उहाँले भन्नुभयो– ठुलो धनराशी खर्चेर बाहिरी व्यक्तिलाई पुस्तक लेखाउनु भन्दा स्थानीय शिक्षकहरुको सक्रियता र स्थानीय व्यक्तिहरुसंग सूचना संकलन गरी सबैको सहभागितामा पुस्तक तयार गर्दा यथार्थ, विश्वसनीय र प्रभावकारी हुन्छ ।“
पुस्तक लेखनका लागि पहिलो चरणमा स्थानीय समुदायसंँग सूचना संकलनका लागि सबै वडामा कार्यशाला सम्पन्न गरेको र आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक अध्यापन गराउनेगरी तयारी रहेको नगरप्रमुख थापाको भनाई छ । यसैगरी नगर उपप्रमुख बालकुमारी थापाले हरेक वडाको यथार्थ बस्तुस्थिति बारे सही सूचना संकलन गरी विश्वसनीय र पठनीय दस्तावेजको रुपमा विकास गर्न स्थानीय पाठ्यपुस्तक लेखनका लागि कार्यशाला सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताउनुभयो ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा “हाम्रो रामपुर“ पाठ्यक्रम लागु गरेर पठन पाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर लेखन तयारी गरेको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको शिक्षा अधिकृत काफ्लेको भनाई छ ।
कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुझाव सहित सूचना संकलन गरेको छ । कार्यदलले प्रत्येक वडा तथा बस्तीको भूगोल र ईतिहास, स्थानीय सरकार , साँस्कृतिक सम्पदा , वन वातावरण तथा सरसफाई, स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन , सामाजिक विकास , स्थानीय विकासका पूर्वाधार, विपद व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषवस्तुमा आधारित रहेर सूचना संकलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो । नगरपालिका भित्रका हरेक बस्तीको सबै यथार्थ बस्तुस्थिति बारे जानकारी लिनका लागि प्रत्येक वडामा वडाबासीको प्रत्यक्ष सहभागितामा सूचना संकलन गरिएको संयोजक देवकोटाले बताउनु भएको छ ।


Leave A Comment