लुम्बिनी प्रदेश मातहतका मन्त्रालयमध्ये स्वास्थ्य मन्त्रालय सर्वोत्कृष्ट
साउन १९, पाल्पा ।
लुम्बिनी प्रदेश मातहतका मन्त्रालयमध्ये स्वास्थ्य मन्त्रालय सर्वोत्कृष्ट रहेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी गराउनुभएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा मन्त्रालयले ८६.५१ प्रतिशत वित्तीय प्रगति गरेको र यो लुम्बिनी प्रदेश सरकार अन्तर्गत सबै मन्त्रालयमध्ये सर्वोत्कृष्ट रहेको मन्त्री सारुले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको हो ।
देउखुरीको राप्ती उपत्यकास्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सारुले आफ्नो एक वर्षे कार्यकालमा सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर तयार पारिएको २५ बुँदे उपलब्धिसमेत सार्वजनिक गर्नुभएको छ ।
मन्त्री सारुका अनुसार जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले प्रभावकारी कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । बुटवलमा निर्माण भइरहेको १ हजार २ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइसकेको छ । स्वास्थ्य प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले ९ वटा नियमावली, कार्यविधि र निर्देशिकाहरू स्वीकृत तथा परिमार्जन गरेको छ । यसैगरी मानसिक स्वास्थ्य तथा मनोसामाजिकसम्बन्धी पाँच वर्षे रणनीति मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको समेत मन्त्री सारुले जानकारी गराउनुभयो ।
क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमार्फत सिफारिसको व्यवस्था लागू गरिएको छ भने १३ स्थानीय तहमा २६ जना रोभिङ्ग नर्स खटाई मानसिक स्वास्थ्य, पोषण एवम् मातृ मृत्यु न्यूनीकरणसम्बन्धी सेवा र परामर्श दिइएको मन्त्रालयले जनाएको छ ।
प्रदेशका सबै अस्पतालहरूमा ५४ प्रकारका सेवा तथा शुल्कमा एक रूपता कायम गरी बडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका ४१ वटा सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली लागू गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट, डिजिटल भुक्तानी, स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड, एम. आर. आई. सेवा सञ्चालनको तयारी, रगत सङ्कलन र भण्डारण केन्द्रको व्यवस्था लगायतका कामहरुलाई प्रगती प्रतिवेदनमा समावेश गरिएको छ ।
गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू, मन्त्रालयस्तरमा सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह, अस्पतालमा प्रयोग हुने उपकरण तथा सामग्री व्यवस्थापनका लागि उपकरण व्यवस्थापन सूचना प्रणाली सञ्चालनलगायतका कामहरु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी स्वास्थ्य बीमा तथा जनस्वास्थ्य सेवा विस्तार अन्तर्गत ३ हजार ८ सय ५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको छ भने १ लाख ४ हजार भन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । मन्त्रालय मातहतका २ हजार ६४ कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराइएको छ र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति गरी सेवा सुरु गरिएको, ४ वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न हुनुका साथै ७ वटा निर्माणाधीन अवस्थामा रहेको छ ।
रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना गरी सेवा विस्तार, प्रदेशका १२ वटै जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम, ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा, महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन, बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्ण बिन्दु प्राशन सेवा विस्तारका लागि मानव कार्यविधि तयारी जसअनुसार अब सबै जिल्लामा विस्तारको तयारी भइरहेकोसमेत मन्त्री सारुले जानकारी दिनुभयो ।
प्युठानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत ७६ जना महिलाको पाठेघरको शल्यक्रिया, १ सय २ नम्बरमार्फत प्रादेशिक एम्बुलेन्स सेवा सञ्चालन, तीन जिल्लामा फेमिली हेल्थ प्रोफाइल तयार गरिएको तथा आगामी आर्थिक वर्षमा थप चार जिल्लामा विस्तार गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । मन्त्री सारुले प्रदेशवासीको स्वास्थ्य सुधारमा मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सर्वसुलभ र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।



Leave A Comment