pokhara news

वालिङका तरकारी किसानलाई प्रतिकिलो ५ रुपैयाँ प्रोत्साहन अनुदान

साउन १४, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय किसानलाई प्रतिकिलो ५ रुपैयाँ अनुदान प्रदान गरेको छ ।
नगरपालिकाले स्थानीय स्तरमा तरकारी उत्पादन बढाउन र किसानलाई उत्साहित बनाउन तरकारी खेती गर्ने किसानलाई प्रतिकिलोको आधारमा नगद प्रोत्साहन स्वरुप अनुदान प्रदान गरेको हो ।
नगरपालिकाको ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो ।  
कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्नुहुन्छ, ‘किसानलाई प्रोत्साहन गर्न विना ब्याज बीउ पूँजी लगानी, प्रोत्साहन अनुदान लगाएतका कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ ।’
‘गत आवमा स्थानीय किसानले उत्पादन गरेको तरकारीको बिक्री तथ्यांकको आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको हो । यसले उत्पादनमा हौसला मिल्नुका साथै बजारको सुनिश्चिततामा पनि सहयोग पुग्नेछ ।’ वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले भन्नुभयो । 
जिल्लाको अग्रणी तरकारी संकलन तथा बजारीकरण गर्दै आएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था मार्फत १ सय २७ जना किसानलाई ५ रुपैयाँका दरले ६ लाख ६८ हजार रुपैयाँ अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी गराउनुभयो । 
यसैगरी न्युनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी लगाएका  किसानलाई प्रति रोपनी कुल उत्पादन लागतको २० प्रतिशतसम्म प्रोत्साहन  अनुदान   प्रदान गरिएको कृषि शाखा प्रमुख सुभाष चन्द्र अर्यालले बताउनुभयो । 
वालिङ नगरपालिकामा यो कार्यक्रम  लागू भएसँगै नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ । 
६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ । 
४० वर्ष यता कै ठूलो परिमाणमा तरकारी आएको सहकारीले जनाएको छ । संस्थाका अनुसार वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रम बापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ प्राप्त छन् । 
यस कार्यक्रमबाट वालिङ क्षेत्रका तरकारी खेतिमा लागेका दर्जनौं किसान लाभान्वित भएका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर